काठमाडौं । नेपाल वौद्धिक परिषद्, बूढानीलकण्ठ नगर कमिटीद्वारा ७४ औं मदन जयन्तिका अवसरमा आयोजित ‘विचार र सिद्धान्तको कसीमा जननेता मदन भण्डारी’ विषयक विमर्श कार्यक्रम सम्पन्न भयो ।

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सिद्धान्तलाई जुत्ता र खुट्टासँग तुलना गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘जुत्ता सानो भयो भनेर खुट्टा काट्ने हैन, खुट्टा अनुसारको जुत्ता बनाउने हो, जनताको बहुदलीय जनवाद पनि नेपाली खुट्टाअनुसार अगाडि आएको विचार हो ।’

माक्र्सवादलाई नेपालको विशेषतामा लागु गर्नुपर्छ भन्ने मान्यताका साथ मदन भण्डारीले जबजलाई अगाडि सारेको उनले बताए । ‘सिद्धान्तले जीवन बदल्न सक्दैन । जीवन बदल्न त्यहाँको यथार्थतामा आधारित हुनुपर्छ भन्ने उहाँको जोड थियो’, उनले भने ।
स्वतन्त्र कम्युनिष्ट नेता मल्ल के सुन्दरले मदन भण्डारीसँग २०२८ सालमा विराटनगरदेखि २०४८ सालको आम निर्वाचनसम्म सहकार्य गरेको स्मरण गर्दै एक आज देशलाई एक गतिशील विचारको अभाव भएको विचार व्यक्त गरे । उनले नेपालको राजनीतिमा वामपन्थीको पकड सन्तोषजनक नभएको बताए ।
नेपाल वौद्धिक परिषद्का महासचिव दीपेन्द्र श्रेष्ठले मदनका विचारलाई व्यवस्थित रुपमा प्रवद्र्धन गर्न परिषद्ले प्रकाशनका कामहरुलाई अगाडि बढाएको बताए ।
नेकपा (एमाले), काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलालले जनतामा आधारित भएर कम्युनिष्ट पार्टी अगाडि बढ्नुपर्छ भन्ने प्रेरणा जनताको बहुदलीय जनवादले दिएको बताए ।
वौद्धिक परिषद्, बूढानीलकण्ठका अध्यक्ष शारदा नेपालले कार्यक्रमको अध्यक्षता गरेका थिए । उक्त कार्यक्रम बूढानीलकण्ठ– ५, दुलालगाउँस्थित बूढानीलकण्ठ क्याम्पिङमा आयोजना गरिएको थियो ।
कार्यक्रमको व्यवस्थापन क्याम्पिङका सञ्चालक पोषण नेपाल र पूजन नेपालले गरेका थिए ।
प्रतिक्रिया