काठमाडाैं । भनिन्छ नि,‘झुठ टिक्दैन, सत्य डग्दैन।’ काठमाडौं जिल्ला अदालतको गत जेठ २९ गतेको आदेशले सो भनाइलाई प्रमाणित गरेको छ । सयौंको बिचल्ली बनाएको राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले आफैंले दायर गरेको मुद्दामा लज्जास्पद हार व्यहोरेको छ ।
पुतलीसडकमा रहेको सिन्सियरले धेरै बचतकर्ताको उठीबास लगाएको विषयमा खप्तडटिभी डटकमले श्रृंखलाबद्ध समाचार प्रकाशित गरेको थियो ।
पीडितसँग भेटेरै प्रमाणसहित विभिन्न मितिमा समाचार छापिएको थियो । त्यसविरुद्ध सिन्सियरले म अर्थात खप्तडटिभी डटकमको सम्पादक गणेश विकविरुद्ध हमला पनि गरेको थियो ।
म्यासेज पठाएर धम्काउने काम पनि भयो । प्रेस काउन्सिल, नेपालमा पनि पुगे । तर, खण्डन छाप्न तयार नभएको मसहितविरुद्ध सिन्सियरका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ र कार्यकारी सञ्चालक राजेश खड्काले काठमाडौं जिल्ला अदालतमा ७७ करोड रुपैयाँ बिगो मागदाबी गर्दै गालीबेईज्जतीको मुद्दा दायर गरे ।
११ पटक पेशी चढेको सो मुद्दामा न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले दाबी नपुग्ने आदेश गरेको छ । सो आदेशले पीडितलाई राहत पुगेको छ भने एकपटक पुनः सत्यको जीत भएको छ । विकतर्फबाट अधिवक्ता जनक साउदले बहस गरेका थिए।
यस्तो छ घटनाक्रम
२०५७ मंसिर २९ गते दर्ता भएको सिन्सियरको स्थापनाकालदेखि नै राजेन्द्रभक्त र राजेश छन् । यता, कर्जा विभागकी अधिकृत मीरा कर्माचार्य पनि त्यहाँ कार्यरत भएको लामो समय भइसक्यो । यी तीनकै मिलीभगतमा हजारौंलाई ‘घर न घाट’ को बनाइएको छ । सिन्सियरबाट ऋण खाने कोही पनि उमो लागेका छैनन् ।
धेरै परिवार सिन्सियर सेभिङ एण्ड क्रेडिट कोपअरेटिभ लिमिटेडको कारण आफ्नो बास छोडेर भूमिगत हुन बाध्य भए ।
सिन्सियरले दिएको तनावका कारण धेरै मानसिक रोगी पनि भए । सिन्सियरले उनीहरुलाई रुँदै हिँड्नुपर्ने बनाएको थियो । कालोधन लुकाउने थलो बनेको सिन्सियरले मीटरब्याजमा लगानी गर्दै आएकाे थिए । तीन किस्ता नतिर्ने बित्तिकै ऋणीको धितो खाइदिन्थ्यो ।
ऋण दिँदा घुस लिन्थ्यो । ऋण लिँदा र तिर्दा नै सेवाशुल्क तिर्नुपर्थ्यो । ऋणीको सम्पत्ति खाने र सुकुम्बासी बनाउने उद्देश्यले स्थापना भएको सिन्सियरबाट पीडित बनेकाहरुसँग खप्तडटिभीले भेट्याे ।
डिप्रेशनको औषधी खाइरहेका उनले सिन्सियरले दिएको पीडाबारे बेलिविस्तार लगाए । त्यसपछि खप्तडटिभीले समाचार प्रकाशित गर्याे ।
सिन्सियरबाट मलाई धम्क्याउने काम भयाे । तर, म र मेराे टिम ढग्मगाएनौं, हाम्रो कलम रोकिएन । थप पीडित खोजेर लेख्दै गर्यौं । हामीले सिन्सियरकै कार्यालयमा पुगेर राजेशसँग कुराकानी गर्यौं । उनले हामीलाई चिप्ला कुरा गरेर फकाउन खोजे । उनकाे पक्षमा समाचार लेखि दियाे भने पैसा दिने कुरा समेत गरे ।
यद्यपि, हामी उनका ती मिठा कुरामा आउनेवाला थिएनौं । खप्तडटिभीले सर्वप्रथम २०७९ माघ १९ गते ‘आफ्नो बेइमानी छोप्न अनेक गर्दै सिन्सियर, सञ्चालक कागभन्दा बाठा’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । त्यसपछि ‘सिन्सियरबाट को-को भए तहसनहस’ लगायतका शीर्षक पनि समाचार हालेका थियौं । राजेशले ‘मलाई म्यासेज गरेर समाचार हटाउनु नत्र राम्रो नहुने’ भन्दै धम्कीसहितको चेतावनी दिएका थिए ।
उनको धम्कीका बाबजूद खप्तडटिभीले सदैव पीडितका लागि कलम चलायो ।
सिन्सियरमै बसेर करोडौंको सम्पत्ति
राजेन्द्रभक्त इन्द्रचोकको निवासी हुन् । यहीको स्थायी बासिन्दा भएपनि सिन्सियरमा आउनुअघि उनीसंग जायजेथोको नाममा त्यस्तो केही पनि थिएन् ।
पैदल हिँडेर आउने उनी अहिले महाराजगञ्जमा करोडौं मूल्य पर्ने महलमा बस्छन् । मँहगामँहगा गाडी चढ्छन् ।
उनले सिन्सियरमै बसेर धेरै ठाँउमा जग्गा जोडेका छन् ।
उनको सम्पत्ति खोज्ने हो भने अर्बको हाराहारीमा होला । यता, राजेश कँलकीका स्थायी बासिन्दा हुन् । उनी पनि हुनेखाने परिवारमा जन्मिएका होइनन् ।
कंलकीबाट पुतलीसडक कहिले हिँडेर त कहिले साइकलमा आउने उनी मँहगो गाडी चढ्छन् । करोडौं मूल्य पर्ने घरमा बस्छन् ।
एउटा कार्यकारी सञ्चालक भएर उनले जोड्नुसम्म सम्पत्ति जोडेका छन् । उनको जग्गामा उत्तिकै लगानी छ ।
अन्य क्षेत्रमा पनि लगानी गरेका छन् । हाल उनको सम्पत्ति ४० देखि ५० करोड छ । २३ वर्षको अवधिमा यत्रो सम्पत्ति कमाउनुपछाडिको रहस्य छरपष्ट भइसकेको छ ।
सिन्सियरकी अर्की घुसमा लुप्त भएकी कर्मचारी हुन्, मीरा । १५ वर्षअघि संस्थामा आएकी उनी राजेन्द्रभक्तकी नातेदार हुन् । आफ्नो ठगीधन्दामा पर्दा हाल्नकै लागि उनले मीरालाई त्यहाँ ल्याएका हुन् ।
उनले त्यहाँ आएर अरुलाई उठीबास लगाउन सिकिन्, अरुको सम्पत्तिमा रजाइँ गर्न सिकिन् । ढल्कु बस्ने मीराको करोडौंको सम्पत्ति छ । एउटा कर्जा अधिकृतको मासिक तलब कति हुन्छ ? त्यो सबैलाई थाहा नै छ ।
सिन्सियरका तीन नाइकेले अरुलाई ठगेर सम्पत्ति जोडेको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बारम्बार उजुरी परेको छ ।
सिन्सियरविरुद्ध पहिलोपटक २०७९ चैत ८ गते अख्तियार र सम्पत्ति शुद्धिकरणमा उजुरी परेको छ । अख्तियारमा दर्ता भएको उजुरीको दर्ता नम्बर सी–०४८८०९ रहेको छ ।
त्यसैगरी, सोही दिन सम्पत्ति शुद्धिकरणमा पनि उजुरी परेको देखिन्छ । उजुरीको दर्ता नम्बर ४४५५ रहेको छ ।
उजुरीमा सिन्सियरको ठगीधन्दाको नालीबेली उल्लेख गरिएको छ । विसं २०५७ मंसिर २९ गते दर्ता भएको उक्त संस्थाले कसरी ऋणीको सर्वस्व सकायो ? उजुरीकर्ताले उजुरीमा खुलाएका छन् । अर्काको उठीबास लगाएर संस्थाका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी निर्देशक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचार्यले सम्पत्ति जोडेकोबारे पनि बेलिविस्तार लगाइएको छ ।
चार पृष्ठ लामो सो उजुरीमार्फत उजुरीकर्ताले उनीहरुले गलत रुपमा कमाएको सम्पत्तिमाथि छानबिन गर्न जोडतोडका साथ माग गरेका छन् ।
राजनीतिक दल र गुण्डागर्दीको आडमा सिन्सियरले ठगीधन्दा चलाएको उजुरीकर्ताको जिकिर छ । उजुरीमा भनिएको छ,‘राजनीतिक दल र गुण्डाको आडमा ठगीधन्दा चलाएर, हजारौंको उठीबास लगाएर जोडेको सम्पत्तिमाथि छानबिन गर्न भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष माग गर्दछु । गलत तरिकाले कमाएको सम्पत्ति छानबिन गरी निजहरुलाई कानुनको दायरामा ल्याउन अनुरोध गर्दछु ।’
सो उजुरीमा सम्पत्ति शुद्धिकरणलाई बोधार्थ दिइएको छ । उजुरीकर्ताका अनुसार सिन्सियरले विशेषतः ट्याक्सी चालकलाई कर्जा दिने गरेको छ । घरजग्गा, सेयर, निजी गाडीमा पनि सिन्सियरको कर्जा लगानी रहेको छ । कति चालक नपढेका, कति साधारण पढलेख भएकाले ठग्न सजिलो हुने भएकाले उनीहरुलाई कर्जा दिइने उजुरीकर्ताको जिकिर छ । १५ लाखको ट्याक्सी राखेर १० लाख कर्जा दिँदा २५ हजार घुस र २० हजार रुपैयाँ सेवाशुल्क लिइने र मासिक ब्याज पनि १५–२० प्रतिशतले असुल्ने उजुरीपत्रमा उल्लेख छ ।
एक करोडको घरजग्गा राखेर ६० लाख कर्जा दिँदा १० लाख घुस खाइदिने पनि भनिएको छ । तीन किस्ता नतिर्नेबित्तिकै धितो खाइदिने र मासिक तिरेको किस्ता बचत खातामा लगेर हालिदिने पनि उजुरीकर्ताले बताएका छन् । कर्जा दिने बेला खाली नेपाली कागज र फोटोकपीमा ल्याप्चे र हस्ताक्षर गराउने सिन्सियरले ऋणी उपस्थित नै नभईकन मालपोत र यातायातबाट धितो नामसारी गर्छ ।
त्यसरी नै संस्थाका पदाधिकारीहरु करोडौंको मालिक बनेको उजुरीकर्ताको भनाइ छ । सिन्सियरको कारणले धेरै परिवार विस्थापित भएका छन् । त्यस्तै, सिन्सियरविरुद्ध २०८० साउन २८ गते अर्को उजुरी परेको छ । ‘सम्पत्तिको छानबिन गरिपाऊँ’ भन्दै परेको उजुरीको दर्ता नम्बर सी–००८०६२ रहेको छ । उनीहरुले कर्जावालसँग घुस खाएर अंकुत सम्पत्ति जोडेको भन्दै छानबिनको लागि अख्तियारको ध्यानाकर्षण गराइएको छ ।
विगतमा खासै पुख्र्यौली सम्पत्ति नभएका उनीहरु सहकारीको पदाधिकारी बनेको छोटो समयमै महलजस्तो घरमा बस्ने र ठूला गाडी चढ्ने हैसियतमा पुगेको उजुरीकर्ताले बताएका छन् ।
कर्जावाललाई सडकको बासमा पुर्याएर मोटाएकाहरुलाई कानुनको दायरामा ल्याउन माग गरिएको छ । पछिल्लोपटक संस्थामा भएको कालोधन छानबिनको माग गर्दै उजुरी परेको देखिन्छ ।
संस्था कालोधन राख्ने थलो बन्दै उजुरीकर्ताले अख्तियारको ध्यान केन्द्रित गराएका छन् । गत कात्तिक २५ गते परेको उजुरीको दर्ता नम्बर सी–०२७४८५ रहेको छ ।
उजुरीमा भनिएको छ,‘यो संस्थामा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, व्यापारीलगायतले आफ्नो कालोधन लुकाएका छन् । भ्रष्टाचार, राजश्व छली, गुण्डागर्दी र स्रोत नखुलेको रकम यो संस्थामा छ । अख्तियार र सम्पत्ति शुद्धिकरण विभागले यो संस्थामा अनुसन्धान गर्ने हो भने भ्रष्टाचारी, राजश्व छलीहरु कानुनको दायरामा आउँछन् ।’
उजुरीको विषयमा पनि खप्तडटिभीले समाचार प्रकाशित गरेको छ ।
प्रतिक्रिया