काठमाडौं । नेपाल सरकारले इरान र इजरायलबीचको विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेकाे छ। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त देशमा रहेका सबै नेपाली नागरिकलाई परिस्थितिप्रति सतर्क रहन पनि आग्रह गरेको हाे ।
नेपालले दुवै पक्षलाई तनाव बढ्नबाट बच्न र शान्ति र स्थिरताका लागि मेलमिलापपूर्ण दृष्टिकोण अपनाउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालसालै इरान र इजरायल बीचको विकसित घटनाक्रमप्रति नेपाल गहिरो चिन्तित छ । हामीले परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ । नेपालले दुवै पक्षलाई तनाव बढ्नबाट बच्न र शान्ति र स्थिरताको लागि मेलमिलापपूर्ण दृष्टिकोण अपनाउन आग्रह गर्दछ। वार्ताका लागि कूटनीतिक माध्यमहरूको प्रयोगले स्थितिलाई तनावमुक्त बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ; ।
दोहा र तेल अभिभमा रहेका नियोगहरू क्रमशः इरान र इजरायलमा रहेका नेपाली समुदायसँग सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । इजरायलले शुक्रबार बिहान इरानको तेहरानमा लगातार बमबारी गरेपछि इरानले पनि जवाफी कारबाही सुरु गरेकोे छ ।
इरान र इजराइलले शुक्रबार रातभरि एकअर्कालाई आक्रमण गरेका छन् । इजराइलले इरानको राजधानी तेहरान आसपास भीषण हमला गरेपछि इरानले इजरायलको राजधानी तेल अभिभ र जेरूसलेममा हवाइ हमला गरेको छ ।
इजरायली सैन्य अधिकारीका अनुसार इजरायलको पहिलो हमला इरानको आणविक कार्यक्रम र लामो दूरीका क्षेप्यास्त्र क्षमतामथि लक्षित थियो । इजरायली स्रोतलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ, ‘हमला सटिक र आक्रामक थियो जसमा इरानका दर्जनौं ठाउँ लक्षित गरिएको थियो। अब यस्ता हमला जारी रहनेछन् ।’
नेपालस्थित इजरायली दूतावासका अनुसार, इजरायलले इरानी आणविक खतरा जुन अस्तित्वगत खतरा थियो, जसलाई हटाउन सैन्य अभियान चलाएको हो ।
इजरायलको राज्य विनाशका लागि कट्टरपन्थी इरानी शासन लागि परेको दूतावासले बताएको छ । ‘इजरायल राज्य विनाशका लागि आह्वान गर्दै इरानी शासनको नेतृत्व स्पष्ट, निरन्तर, सार्वजनिक र स्पष्ट रूपमा प्रकट भएको छ । इरान आतंकवादको विश्वको पहिलो प्रायोजक राज्य हो ।’ विज्ञप्तिमा भनिएको छ ।
इरानले भने चेतावनी दिँदै इजरायलले ठूलो मूल्य चुक्ता गर्नुपर्ने बताएको छ । इरानका सर्वोच्च नेता आयातल्लाह अली खामेनेईले इजरायलले गरेको आक्रमणले उसको ‘घृणित चरित्र’ प्रकट भएको टिप्पणी गरेका छन् । इरानी आक्रमणका कारण इजरायलको जेरुसलेममा विस्फोट सुनिएको र तेल अभिभमा कालो धुवाँ देखिएको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया