बालेन र सुनिताबीचको मौनता तोडिएसँगै कार्यपालिका बैठक डाक्ने जुट्यो सहमति

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलबीचको मौनता तोडिएसँगै कार्यपालिका बैठक र नगरसभा बस्ने भएको छ । यसका लागि मेयर बालेन तयार भएका छन्।

हिजो(बुधबार) काठमाडौं प्लाजामा उपमेयर सुनिता डंगोल, तीन जना वडाध्यक्षसहितको उपस्थितिमा भएको छलफलमा मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाउने सहमति जनाएका हुन्।

छलफलमा महानगरका प्रवक्ता समेत रहेका कांग्रेसबाट निर्वाचित १७ नम्बर वडाका वडाध्यक्ष नवीन मानन्धर एमालेबाट निर्वाचित ३२ नम्बरका वडाध्यक्ष नवराज पराजुली र नेकपा एसबाट निर्वाचित १५ नम्बरका वडाध्यक्ष ईश्वरमान डंगोलको सहभागिता रहेको थियो।

‘हिजो मेयर साब चाँडै कार्यपालिका बैठक र नगरसभा डाक्न सहमत हुनु भएको छ,’ मानन्धरले भने, ‘अब चाँडै बैठक बस्छ।’ पछिल्लो समय पुसदेखि कार्यपालिका बैठक बस्न सकेको थिएन। जसले गर्दा महानगरको बजेट समेत अन्योलमा परेको थियो। काठमाडौं टावर नक्सापास विवादमा प्रमुख प्रशासकीय अधिकृ सरोज गुरागाईंलाई तीन महिनासम्म कार्यालय प्रवेशमा रोक लगाइएको थियो। काठमाडौं महानगरको आर्थिक गतिविधि ठप्प पारेको लगायत अन्य विषयमा प्रश्न उठाउन १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यले चैत १० गते कार्यपालिका बैठक माग गरेका थिए।

जेठ १२ गते उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका सदस्यहरूले एक साताभित्र कार्यपालिका माग गरे पनि बालेनले बैठक बोलाएका थिएनन्। त्यसको लगत्तै १५० जनाभन्दा बढि भेला भएको एक अनौपचारिक कार्यक्रममा नगर सभा सदस्यहरूले मेयर बालेनलाई नगर सभा डाक्न अनुरोध गरेका थिए। वडाध्यक्षहरूसहितको बैठक करिब ४ घण्टासम्म चलेको बताइएको छ। उक्त बैठक अपरान्ह ४ बजेतिर सकिएपछि फेरि मेयर शाह र उपमेयर डंगोलबीच बेग्लै छलफल भएको थियो। मेयर र उपमेयरबीच करिब अढाइ महिनादेखिको संवादहिनता हिजो तोडिएको महानगर स्रोत बताउँछ।