देउवा–प्रचण्ड सहमतिमा ओलीको अनिच्छा, गृहमन्त्रीको राजीनामाको माग निरन्तर

छानबिन समितिको मागमा विपक्षी दलले अडान यथावत् राख्ने निर्णय गरेको छ ।

छानबिन समिति सुनिश्चित नभएसम्म सदन खोल्न नसक्ने निष्कर्ष उक्त बैठकले निकालेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा अध्यक्ष प्रचण्डसँग भएको सहमतिअनुसार छानबिन समिति बनाएर आफूहरू सदन खोल्न तयार रहेको माओवादीका सांसद राजन दाहालले बताए । उक्त प्रस्तावमा कांग्रेस लचक भएपनि प्रधानमन्त्री केपी ओलीको अनिच्छाको कारण सदनको गतिरोध लम्बिइरहेको उनको जिकिर छ ।

सांसद दाहालले भने, ‘बूढानीलकण्ठमा अध्यक्षसँगको भएको भेटमा देउवाजीले अख्तियारको छानबिन छिटो टुङ्ग्याउने र यो विषयमा थप अनुसन्धानका लागि मानव बेचबिखन र सङ्गठित अपराधको विषयमा सदनबाट छानबिन समिति बनाउने कुरामा सहमति भएको थियो । तर, अहिले उहाँहरू न गृहमन्त्रीको राजीनामा दिनुहुन्छ, न त त्यो सहमति कार्यान्वयनको पक्षमा नै देखिनुहुन्छ ।’

उनले कांग्रेसले अहिले गृहमन्त्रीमाथि छानबिन नगरी अध्यागमनमा अबका दिनमा नीतिगत सुधारको लागि छानबिन समिति वा संयन्त्र बनाउनुपर्ने मात्रैको प्रस्ताव ल्याएपछि कुरा नमिलेको बताए ।

दाहालले थपे, ‘प्रधानमन्त्रीले सदन खोल्न चासो नदिएपछि कांग्रेसले अग्रसरता लिएको छ, अहिले रास्वपासँग पनि बेग्लै वार्तामा छ । तर, आज सहमति जुट्ने सम्भावना कम नै देखिन्छ ।’

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज पनि दिउँसो २ बजेको लागि बोलाइएको छ ।