कांग्रेस र एमालेले प्रतिपक्षी दललाई पुनः भने, ‘गृहमन्त्रीको राजिनामा आउँदैन्’

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका छन् ।

सभामुखले सिंहदरवारमा आज बिहान कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन ।

सभामुखले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक पटक संसद बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टिसमेत जनाए । संसद अवरोधका कारण बजेट माथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरेका थिए ।

प्रमुख विपक्षी माओवादी प्रमुख सचेतक पाण्डेले आज नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाउनु भएकाले त्यसपछि आफूहरूको धारणा दिने जानकारी दिए ।

सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्‍याएका थिए ।

भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा छानबिन समिति गठन गर्नु पर्ने अडान राखेर संसदमा निरन्तर अबराेध गरिरहेका छन् ।