शुन्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छः उर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शुन्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन ।

साथसाथै फाउण्डेसनले कोइला ऊर्जाको प्रयोग बन्द गर्ने अभियानसम्बन्धी आज ज्ञापनपत्र बुझ्दै उनले कार्बन उत्सर्जन शून्यमा झार्नका लागि सरकारले विभिन्न योजनाबद्ध कार्यक्रमलाई अगाडि सारेको बताए ।

मन्त्री खड्काले हरित ऊर्जालाई अगाडि बढाउनका लागि सरकारले कानुनी र नीतिगत व्यवस्थाको थालनी गरिरहेको जानकारीसमेत दिए ।

सरकारले सन् २०३५ सम्म २८ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्यले नेपालको स्वच्छ ऊर्जा रुपान्तरणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।

नवीकरणीय ऊर्जाको प्रयोगसँगै भारतबाट आयत हुने कोइलाको आयत घट्दै जाने मन्त्री खड्काले विश्वास व्यक्त गरे । उनले जलवायु परिवर्तनले नेपालको हिमालमा समेत समस्या उत्पन्न हुँदै गएको उल्लेख गर्दै यसलाई जोगाउनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

साथसाथै संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनका कारण हुने प्रदूषणले मानिसको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै प्रदूषण रोक्नका लागि कोइलाको आयतलाई प्रतिस्थापन गर्नुपर्ने धारणा राखेकी छिन ।