केपी ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान देशको साझा संकल्प हो- पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं ।नेकपा एमालेको राजनीतिमा पुनः जोडिएको घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको प्रशंसा गरेकी छन् ।

आज काठढ आयोजित कार्यक्रममा बाेल्दै पूर्व राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीले जननेता स्वर्गीय मदन भण्डारीको सहयोद्धाका रूपमा मदन भण्डारी फाउन्डेसनका लागि गरेको योगदानको सराहना समेत गरिन् ।

भण्डारीले भनिन्–यस संस्थालाई एउटा प्रतिष्ठित सामाजिक संस्थाको रूपमा र पवित्र उद्देश्य लिएको अविचलित अभियानकर्ताका रूपमा विकास गराउन महत्त्वपूर्ण भूमिका खेल्नुहुने जननेता मदन भण्डारीका सहयोद्धा श्री केपी शर्मा ओलीसहित नेकपा एमालेका नेता तथा कार्यकर्ताको योगदानको म सराहना गर्दछु ।

भण्डारीले नेकपा एमाले र जनताको बहुदलीय जनवादको सिद्धान्तबाट नै देशले हिंसा र अशान्तिको बाटोबाट मुक्ति पाएको भन्दै अहिलेको आर्थिक समृद्धिको मार्ग र यसको सफलताको आधार मदन भण्डारीको विरासत भएको बताइन् ।

उनले भनिन्–अहिले नेकपा एमालेका अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेपाली जनताको साझा संकल्पको रूपमा रहेको समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानलाई सुदृढ पार्न दत्तचित्त बनेर लागिरहनुभएको छ । म यसमा खुसी व्यक्त गर्दै यस अभियानको सफलताको निम्ति शुभकामना दिन चाहन्छु ।