काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कनका लागि ८८५ जनाले नाम टिपाएको जानकारी दिएकी छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री राणाले सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिन शुरू गरेको जानकारी दिइन्। त्यसमा ८८५ जनाले विवरण भरेको उनले बताइन्। मन्त्री राणाले इजरायल–इरानबीच उत्पन्न द्वन्द्वका कारण सो क्षेत्र तथा अन्य प्रभावित मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको समेत बताइन्।
‘१३ जुनदेखि नै हामी प्रेस विज्ञप्ती जारी गर्यौं । त्यसपछि जुन १५ मा हामीले प्रेस एड्भाइजरी समेत जारी गरेर हाल इजरायल तथा इरानमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिरहेका छौँ । रहेक दिनजसो म राजदूत ज्यूहरुसँग समेत सम्पर्क गरेर बुझ्ने प्रयास गरिरहेको छु। त्यो बाहेक अन्य देशमा रहनु भएको राजदूतहरुसँग नेपाली नागरिकको सुरक्षाका सन्दर्भमा निरन्तर छलफल हुँदै आएको छ। जुन १७ अनलाई पोर्टल खोलेर नेपाली नागरिकहरुको विवरण लिन शुरु गरेका छौँ । र उक्त पोर्टलमा हालसम्म ८८५ जनाले दर्ता गर्नुभएको छ। अबको एक९दुई दिनमा श्रम संसार भन्ने मोबाइल एप नागरिक एपसँग मिलाएर रिलिज पनि गर्न गइरहेका छौं,’ मन्त्री राणाले भनिन्। उनले अवैधानिक रुपमा विदेशमा काम गरिरहेका नेपाली नागरिकलाई वैधानिक बनाउनका लागि काम गर्न समेत कार्यदल गठन गरी काम अघि बढाइएको बताइन् । उनले इजरायल–गाँजा युद्धमा बेपत्ता भएका नेपाली विद्याथी वीपिन जोशीको रिहाईको लागि समेत सरकार प्रयासरत रहेको बताइन्।
‘क्रोएसियामा मृत्यु भएका रवी महतोको शव ल्याउने प्रक्रिया सुरू भएको छ’
परराष्ट्रमन्त्री आरजु राणा देउवाले क्रोएसियामा मृत्यु भएका रवी महतो सुरीको शव नेपाल ल्याउनका लागि पहल भइरहेको बताएकी छन्। सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री राणाले सुरीको शव नेपाल ल्याउन रकम अपुग भएकाले ढिलाइ भएको बताइन्। उनले अपुग रकम वैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराउने सहमति भइसकेकाले शव यथाशीघ्र ल्याउन दूतावासले आवश्यक प्रक्रिया अघि बढाएको बताइन्। यसैगरी मन्त्री राणाले गैरआवासीय नेपालीको ज्ञान, सीप एवं पूँजीलाई नेपालको विकासमा लगाउन तथा निजी क्षेत्र र सरकारी निकायहरूसँग जोड्ने सन्दर्भमा परराष्ट्र मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको जानकारी गराइन्।
प्रतिक्रिया