न्यायालय बिचौलियाको घेरामा, सेटिङमा अभियुक्त हाजिर गरेको आरोप

रौतहट । पूर्व मन्त्री महमद आफताब आलमलाई सफाई दिने पुनरावेदन अदालतका दुईजना न्यायाधीश न्याय परिषदमा तानिएको बेला रौतहटस्थित न्यायालय बिचौलियाको घेरामा परेको चर्चा चुलिएको छ।

स्थानिय कटहरिया नगरपालिका ५ अन्तर्गत नवविवाहिता हत्या प्रकरणका मुख्य आरोपी तथा आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई सेटिङ अनुसार प्रहरीमा हाजिर गराएको आरोप लागेको छ ।

नवविवाहिता हत्या प्रकरणमा प्रहरीले अनुसन्धान प्रभावित पार्न खोजेको भन्दै पीडित पक्षले न्यायका लागि अपिल समेत गरेका छन्। कटहरिया नगरपालिका–५ मा वैशाख २८ गते भएको सानिया प्रविनको मृत्यु प्रकरणमा पीडित परिवारले न्यायका लागि पहल गरिदिन न्युजकारखानालाई आग्रह गरेका छन्।

भारत, बिहार राज्य, पूर्वी चम्पारण सुगौली राय टोलाका मेहोलिया रोजनाजी परिवारकी छोरीको हत्या भएको र प्रहरीले पनि न्याय दिन नसकेको भन्दै मृतक सानिया परवीनको आफन्तहरूले उक्त आग्रह गरेका हुन्।

माइती पक्षका अनुसार परवीनको कटहरिया–५ कटहरिया बजारमै घर भएका अहमद राय भाटको छोरा अरमानराय भाटसँग मात्र ६ महिना अघि मुस्लिम परम्परा अनुसार बिवाह भएको थियो।

बिहे पछि दाइजोमा नगद, केटिएम मोटरसाइकललगायतका सामग्री दिन नसकिएकै कारण सानियालाई मानसिक र शारीरिक यातना दिई हत्या गरिएको माइती पक्षले आरोप लगाउँदै आएका छन्।

मृतक सानियाका मामा असमान अन्सारीले भने, “सासु, ससुरा र ज्वाइँ अरमान राय मिलेर गत बैशाख २८ गते घाँटी थिचेर भान्जी सानियाको हत्या गरेका हुन्। हत्या गरेर शवलाई झुण्ड्याएर आत्महत्या देखाउन खोजिएको छ ।’

सानिया भोलिपल्ट माईती जान तयारी अवस्थामा थिइन्। त्यही दिन बेलुकी उनको झुण्डिएको अवस्थामा मृत्यु हुन्छ र कोठाको ढोका खुला थियो। तर, प्रहरीले गहन अध्ययन अनुसन्धान नगरी प्रभावमा परेर ईलाका प्रहरी कार्यालय गरुडामा ज्यान मुद्दाको सट्टा आत्महत्या दुरुत्साहन मुद्दा चलायो त्यो पनि एक जनामाथि मात्र मृतक सानियाका मामा असमान अन्सारीले आरोप लगाए ।

घटना पछि मुख्य आरोपी तथा मृतक सानियाका श्रीमान अरमानराय भाट फरार भएका थिए तर पछि एकजना स्थानिय बिचौलियाले आर्थिक चलखेलको भरमा प्रहरी, सरकारी वकील र न्यायलयलाई मिलाइ सकेको दाबी गरे पछी आरोपी अरमान ईलाका प्रहरी कार्यालय गरुडामा हाजिर भएको सानियाका मामा अन्सारीले जिकिर गरेका छन्।

प्रहरीमा हाजिर भएपछि सरकारी वकिलको पहलमा अदालतमा धरौटीमा छाड्ने बिचौलियाले सेटिङ मिलाएको पीडित परिवारले दाबी गरेका छन्। उनीहरूले नेपालको कानुन ब्यवस्था प्रति नै प्रश्न उठाएका छन्। भारतमा यस्तो घटना हुँदा अहिलेसम्म धेरै थोक हुन्थ्यो, ससुरा, सासु, श्रीमान सबै थुनामा हुन्थे तर यहाँ प्रहरी प्रशासन, न्यायलय देखी राजनीतिक दलका नेताहरु कसैमाथि विश्वास गर्ने अवस्था नरहेको उनीहरूले दुःखेसो पोखेका छन्।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटनाको प्रहरीले भनेको निश्पक्ष अनुसन्धान गर्ने हो। आरोप जस्ले जे लगाउदा पनि हुन्छ। न्याय सबैले पाउनु पर्छ। जहाँसम्म प्रहरिको भुमिकाको कुरा छ, यसमा म निष्पक्ष छु। कुनै मोलमोलाइ हुने छैन। निष्पक्ष अनुसन्धान हुनेछ। बाहिर कस्ले के कुरा गर्यो भन्ने कुरा मेरो खासै चासोको बिषय पनि होइन। पिडितलाइ न्याय दिलाउन म प्रतिबद्ध रहेको डिएसपी कार्कीले प्रतिवद्धता जनाएका छन्।

अर्को प्रसङ्गमा उनले भने घटना पछी आरोपी अरमानलाई हाजिर गराउन पटक पटक उनको अभिभावकलाई भन्दा कुनै वास्ता नगरेको तर केही दिन अघि आफै आएर ईलाका प्रहरी कार्यालय गरुडामा आरोपी अरमान हाजिर भएपछी कुनै कतै सेटिङ त छैन भनेर आफूलाई पनि शंका लागेको डिएसपी राजन कार्कीले बताएका छन्।

जिल्ला सरकारी वकील कार्यालय रौतहटका प्रमुख जिल्ला न्यायाधिवक्ता मुन्ना मियाँले अहिले अभियुक्त प्रहरी हिरासतमा रही अनुसन्धान भईरहेको बताउँदै सबै आरोपको खण्डन गरेका छन्। उनले कुनै पनि फौजदारी मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेर सम्पूर्ण रिपोर्ट सरकारी वकील कार्यालयमा बुझाउने गर्दछन्। सरकारी वकिलले उक्त मुद्दामा अभियोजन पत्रसहित सम्पूर्ण प्रमाणहरु अदालतमा बुझाउँछ, न्यायाधिवक्ताले पीडितको पक्षमा बहस गर्छन मियाँले भने।

र, त्यसपछि न्यायाधीशले प्रमाण, गवाही, घटना प्रकृति, प्रहरीको अनुसन्धान सबै हेरेर वकिलको बहस सुनेर अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गर्न सक्छ, धरौटीमा छोड्न सक्छ अथवा साधारण तारेखमा पनी छोड्न सक्ने जिल्ला न्यायाधिवक्ता मियाँले स्पष्ट पारेका छन्।

उनले कुनै बिचौलियासँग आफूहरुको कुनै सम्बन्ध छैन्, सबै आरोप गलत रहेको उनको भनाई रहेको छ तर पछिल्लो समय रौतहटमा सरकारी वकिल कार्यालय देखी जिल्ला अदालत गौरमा बिचौलियाको चलखेल भईरहेको गुनासो बढ्दै गएको छ।

केही महिना अघि मात्र जिल्लाको एक हत्याको घटनामा न्याय मारेको भन्दै पिडित परिवारले न्यायाधीश मनोज केसी बिरुद्द उनको राजीनामा र उनीमाथि कारवाहीको माग गर्दै कैयौं दिनसम्म प्रदर्शन गर्दै अदालतको गेट छेउमा धर्ना बसेका थिए। दुईबर्ष अघि सरकारी वकील कार्यालय रौतहटका प्रमुख माथि एकजना पीडितले अख्तियारमा उजुरी दिएका थिए।

हाल सरकारी वकील कार्यालय गौरमा बिचौलियाको चलखेल सहजै देख्न सकिन्छ। सानो सानो मुद्दामा सहयोग गर्ने नाउँमा बिचौलियाले सरकारी वकिल र न्यायमूर्ति मिलाउने नाउँमा लाखौं लाख रुपैयाँ असुली गरिरहेको जिल्ला सदरमुकाम गौरमा कानुन व्यवसायीहरु गुनासो गरेका छन्।

केही बर्ष यता दाईजो लगायत बिभिन्न कारणले मधेश प्रदेशमा नवविवाहिताको हत्याको घटनामा बृद्धि भएको छ। भारतीय बालिकाको नेपालमा हत्या हुनु र आरोपी सहज रुपमा उन्मुक्ती पाउने गरेको कारण केही बर्ष यता देखि दुईदेश बीच सदियौं देखि चलिआएको रोटीबेटीको सम्बन्ध समेत प्रभावित भएको देखिएको छ। अहिले आफ्नो छोरा छोरीको बिहे नेपालमा गर्न आनाकानी गरिरहेका छन्।