काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र हल्लिन थालेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चिन्ता बढ्नु स्वाभाविक भएको बताएका छन्।
प्रचण्डले ‘राजावादीले भाडामा मान्छे ल्याएर चुरीफुरी देखाएको’ भन्ने अभिव्यक्तिको जवाफ दिँदै लिङ्देनले उक्त प्रतिक्रिया दिएका हुन्। शनिबार नुवाकोटमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले, ‘भाडामा मान्छे ल्याएर कहिलेकाहीँ जुलुस गर्ने कुरा सामान्य हो’ भनेका थिए। त्यसको जवाफमा शनिबार नै काठमाडौंमा जारी आन्दोलनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले प्रचण्डले आफ्नै विगतको अनुभव सुनाएको बताएका छन्।
विचरा प्रचण्डजी, उहाँ त गणतन्त्रको संस्थापक। उहाँको नेतृत्वमा गणतन्त्र आएको हो। त्यसकारण गणतन्त्र हल्लिँदाखेरि सबैभन्दा पीर उहाँलाई पर्छ,’ लिङ्देनले भने, ‘त्यो पीर परेको बेला के–के बर्बराउने, के–के गर्ने ? उहाँहरूले गणतन्त्रको पक्षमा प्रदर्शन गर्दा कस्ता मान्छे कहाँ–कहाँबाट ल्याउनु हुन्थ्यो, कुन पार्टी प्यालेसमा कस्तो भोजभतेरको व्यवस्था हुन्थ्यो, त्यो उहाँलाई राम्ररी थाहा छ । त्यसैले पैसा दिएर मान्छे ल्याउने कुरामा उहाँले आफ्नो अनुभव बताउनु भएको हो।’
अध्यक्ष लिङ्देनले आफूहरूले जनताको साथ र समर्थन पाइरहेको दाबी गर्दै यही जनसमर्थनले वर्तमान सरकारलाई झुक्न बाध्य पार्ने बताए। ‘हामीले भनेका छौँ, जनताको साथ पुग्यो र यसरी नै जनसमर्थन बढिरह्यो भने यो सरकारलाई झुक्न बाध्य बनाउँछौं। हामी निरन्तर लागिरहन्छौं,’ उनले थपे, ‘उहाँहरूले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहनु भएको छ, त्यसको अन्त्य गरेरै छाड्छौं ।’
प्रतिक्रिया