बारा । बाराको पचरौता नगरपालिका– १ पिपरपातीका एकै परिवारका तीन जनाको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।
भारतको रक्सौलबाट फर्किदै गर्दा छौडादानोको बखरी गाउँ नजिकै मोटरसाइकल दुर्घटनामा परेर पाँच महिनाका एक नाबालकसहित एकै परिवारका तीन जनाको सोमवार ज्यान गएको बताईएको छ ।
मृत्यु हुनेमा पाँच महिनाका शिशु दिव्यांश साह, उनकी २० वर्षीया आमा रेश्मीदेवी र ५० वर्षीया हजुरआमा राजकुमारी देवी रहेका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा २५ वर्षीय धर्मराज साह गम्भीर घाइते भएका छन् । उनको हाल भारतको मोतिहारीस्थित अस्पतालमा उपचार भइरहेको छ । धर्मराजको शरीरको विभिन्न भागमा गम्भीर चोट रहेको र हातखुट्टा भाँचिएको बताइएको छ ।
धर्मराज साह आफ्नो पाँच महिनाको छोराको उपचारका लागि पत्नी र आमासहित रक्सौल गएका थिए । उपचारपछि घर फर्कंदै गर्दा सडक निर्माणको क्रममा खनिएको खाल्डोमा मोटरसाइकल दुर्घटनामा परेको स्थानीयले जानकारी दिएका छन् ।
मृतकहरुको मंगलवार शव गाउँमा ल्याएर अन्त्यष्टि गरिएको छ । धर्मराजको आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा पनि समस्या देखिएको छ । घटनापछि पचरौता नगरपालिकाका नगर प्रमुख जलान्धर सिंहले धर्मराजको उपचारका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन ।
‘यो दुर्घटना अत्यन्त दुःखद र हृदयविदारक छ । पीडित परिवारलाई तत्काल राहत पुग्ने गरी पालिकाबाट सहयोग उपलब्ध गराउनेछु’ नगर प्रमुख सिंहले भने ।
प्रतिक्रिया