गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुनः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धिहरू मात्र पर्याप्त नहुने भन्दै राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोड्नका लागि हाम्रो शासकीय चरित्रलाई बदल्नु पर्ने बताएका छन ।

गणतन्त्र दिवस, २०८२ को अवसरमा शुभकामना दिदैँ राष्ट्रपति पौडेलले शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने पनि बताएका हुन ।

आफ्नो सन्देशमा उनले भने, ‘हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ । हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने हुन्छ । गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु ।’ 

अहिले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु अरू कोही नभई ढिलासुस्ती, अनियमितता र बेथिति भएको तथ्य जगजाहेर भएको पनि राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा उल्लेख गरेका छन । उनले भने, ‘यिनै बेथितिले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्दछ । जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँंग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन ।’ 

राष्ट्रपति पौडेलले आज नागरिकले सुशासनसहितको समृद्धि, रोजगारी, न्यायोचित वितरण र  सामाजिक न्यायको प्रवन्ध खोजेको भन्दै आर्थिक विकास बिना यी केही पनि सम्भव नभएको स्पष्ट पारे । उनले सन्देशमा भनेका छन,  ‘त्यसैले हाम्रा स्रोतहरूको उच्चतम प्रयोग गर्न आवश्यक छ । अनिमात्र हामी हाम्रो कृषि, पर्यटन, ऊर्जालगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौँ । अनिमात्र आर्थिक विकास र समृद्धि प्राप्त हुन्छ । अनिमात्र गणतन्त्रलाई हामी नागरिकको जीवनसँग जोड्न सक्छौँ । अनिमात्र नयाँ आशाहरू निर्माण हुन सक्छन् । अनिमात्र हाम्रो गणतन्त्र सफल, सबल र परिणाममुखी हुँदै जान्छ । यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो ।’ 

उनले गणतन्त्र केवल एक राजनीति व्यवस्था मात्र नभएर यो आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि भएको उल्लेख गर्दे यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरूलाई भुलेर इतिहासको अभिभारा पूरा गर्न नसकिने बताए । राष्ट्रपति पौडेलले भने, ‘यस अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ । म आशा गर्छु हामी यो दायित्व बिर्सने छैनौँ ।  म आशा गर्छु, गणतन्त्रको मर्यादा बचाउन र यसलाई अझ समृद्ध बनाउन हामी सबै एकताबद्ध भएर लाग्नेछौँ । गणतन्त्र केवल एक व्यवस्था हैन । यो त आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि हो । यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन् । त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ । आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र समृद्धिसहित संघीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम् र सार्थक अभ्यासमा अगाडि बढ्ने थप प्रेरणा दिनेछ ।’

राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था भएको भन्दै यसलाई नेपालमा संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यसहितको समाजवादको सारगर्वित मान्यताहरूले सिञ्चित गरेर थप सर्वोत्कृष्ट बनाएको उल्लेख गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गरेको भन्दै यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने सङ्कल्पका साथ आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको बताए ।