नेपाली श्रमिकलाई गन्तव्य देशले स्थानिय नागरिकसरह काम दिनुपर्छ: श्रम मन्त्री

काठमाडौं ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम गर्न गएका नेपाली श्रमिकहरुलाई गन्तव्य देशले दासको व्यवहार गर्न नपाइने बताएका छन् । 

मंगलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्विस सरकार र आईएलओको अन्तर्राष्ट्र्रिय तालिम केन्द्र (आईटिसी) द्वारा धुलिखेलमा आयोजित श्रम सम्झौताको विकास, सौदाबाजी र कार्यान्वयन सम्बन्धी आवासीय तालिमको उद्घाटन गर्दै श्रममन्त्री भणडरीले गन्तव्य देशबाट वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई सधैं सम्मानपूर्ण व्यवहारको अपेक्षा नेपालले राख्ने गरेको बताएका हुन । 

उनले भने, ‘आफ्नो देशमा श्रमशक्ति नभएपछि नेपालबाट श्रमिक लिएर जाने गरेको हो । नेपालबाट गएका श्रमिकले गन्तव्य देशको विकासमा ठूलो योगदान गरिरहेको छ । यसलाई गन्तव्य देशले पनि भन्दै आइरहेको छ । ’ 
मन्त्री भण्डारीले गन्तव्य देशले श्रम गर्न गएका नेपाली श्रमिकहरुलाई स्थानीय नागरिक सरह नै आधारभूत अधिकार पाउने हैसियत कायम गर्नुपर्ने बताए ।

‘त्यो देशको विकासलाई योगदान गर्ने नेपाली श्रमिकलाई दास सरहको व्यवहार गर्न पाइँदैन । ’  उनले भने, ‘नेपाली श्रमिकले स्थानीय नागरीक सरह नै आधारभूत अधिकार पाउने हैसियत राख्दछ । सम्मानजनक व्यवहार खोज्दछ ।’

नेपालले गन्तव्य देशसँग नेपालीको न्यूनतम तलब, स्वास्थ्य सुरक्षा, बिमा, सामाजिक सुरक्षा, मर्यादित कार्यस्थल र न्यायोचित भर्ना प्रक्रियाको विषयलाई सम्बोधन हुने गरी श्रम सम्झौता वा समझदारी गरिरहेको उनले बताए । 

उनले नेपाल सरकार सुरक्षित आप्रवासनको लागि काम गरिरहेको बताउँदै श्रमिक घरबाट निस्केर गन्तव्य मुलुकसम्म पुगेर फर्केर नआएसम्मका सबै चरणमा सुरक्षाको सुनिश्चित गर्ने विषयमा श्रम सम्झौता गर्नुपर्ने बताए । 

कार्यक्रममा श्रम सचिव डा. कृण्णहरि पुष्करले गन्तव्य देशसँगको श्रम सम्झौता गर्दा अन्तर्राष्ट्रिय आधारभूत मानवअधिकारको विषयमा कुनै पनि सौदाबाजी गर्न नहुने बताए । ‘श्रमिकको सुरक्षा र हक दिलाउने विषयमा विश्वव्यापी मानवअधिकारका आधारभूत मान्यताका विषयमा सौदाबाजी हुँदैन,’ उनले भने,‘सामाजिक सुरक्षा लगायतका विषयमा भने थप छलफल गर्न सकिन्छ ।’