डोटीका गाउँ बस्तीमा कांग्रेस नेता विष्ट

दिपायल । डोटी प्राकृतिक हिसाबले धनी छ। ऐतिहासिक रूपमा वैभवशाली छ। डोटेली राज्यदेखिनै डोटीको सदरमुकाम दिपायल सिलगढी सुदूरपश्चिमकै प्रशासनिक केन्द्र थियो। तर, माओवादी सशस्त्र द्वन्द्वपछि डोटी ओझेलमा पर्दै गएको छ।

डोटीका गाउँ बस्ती रित्तिँदै गइरहेका छन्। मानिस सुगमताको खोजीमा तराई झर्ने क्रम बढेसँगै कयौं गाउँ मानवविहीन हुन पुगेका छन्।

संघीयतापछि डोटी थप सकसमा छ। २०३८ सालमा राजा वीरेन्द्रले सुदूरपश्चिमाञ्चल विकास क्षेत्र घोषणा गर्दै क्षेत्रीय सदरमुकाम दिपायल बनाएका थिए। त्यससँगै अधिकांश सरकारी अड्डा अदालत यही थिए।

तर, संघीयतापछि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कैलालीको अत्तरिया तोकिएसँगै डोटीको बसाइसराई दर थप बढेको छ। र, त्यहाँ राजनीति गर्ने नेताहरूका लागि बसाइसराई रोक्नु नै प्रधान चुनौती बनेको छ।

यस्तो निराशाबीच जनतामा आसा जगाउन नेपाली कांग्रेसका नेता आनन्द विष्ट डोटेली जनताको घरदैलोमा धाइरहेका छन्। जनताका कुरा सुन्न र मर्का बुझ्न आफूले जिल्लाका विभिन्न पालिका पुगेर नागरिकसँग विमर्ष गरिरहेको विष्ट बताउँछन्।

‘जनताका कुरा सुन्दै उहाँहरूका माग सम्बोधनका लागि राज्यका निकायसँग पहल गर्नु हाम्रो दायित्व हो। जनताको घरदैलोमा चुनावको समयमा मात्र आउने होइन, अन्य बेला पनि समस्या सुन्नुपर्छ। र, समस्या समाधानमा केन्द्रित हुनुपर्छ,’ विष्टले भने।

कांग्रेस पूर्वआमन्तृत केन्द्रीय सदस्यसमेत रहेका विष्टले शिखर नगरपालिका, जोरायल गाउँपालिका, बडिकेदार गाउँपालिका, दिपायल सिलगढी नगरपालिकालगायत अन्य पालिकाका विभिन्न बस्तीमा पुगेर जनतासँग भेटघाट गरिरहेका हुन्।

उनले जनतासँगको भेटका क्रममा डोटीमा बसाइसराई ठूलो चुनौतीको रूपमा रहेको पाएको बताए। आफूहरूका लागि ठूलो समस्या नै बसाइसराईको दरलाई रोक्नु रहेको उनी बताउँछन्।

‘गाउँ-गाउँमा पछिल्लो समय बाटाघाटा पुगेका छन्। सवारी साधनको बढ्दो सहज पहुँचले यहाँ उत्पादन हुने सुन्तला, दलहन, अदुवालगायत कृषि उपजलाई सहजै देशको जुनसुकै कुनामा पुर्‍याउन सक्ने अवस्था बनेको छ। तर, मानिसहरूको बसाइसराइको क्रम बढ्दो छ। यसले गर्दा उत्पादन गर्ने जनशक्ति नै छैन। यसलाई रोक्नु नै हाम्रो चुनौती हो,’ विष्टले भने।

डोटी प्रचुर पर्यटकीय सम्भावना बोकेको जिल्लासमेत रहेकाले यसको प्रवर्द्धन आवश्यक रहेको विष्टले औंल्याएका छन्। ‘भूश्वर्ग खप्तड यही छ। ठूला केदार, शैलेश्वरी, त्रिवेणी धाम जस्ता धार्मिक आस्थाका धरोहर यही छन्। बिहान उठ्ने बित्तिकै हिमाल देखिन्छन्, प्राकृतिक वनस्पति, जंगल, चराको चिरबिर, खोलानाला र झरनाको कलकलले मनै लोभ्याउँछ। डोटी पर्यटकहरूका लागि ‘भर्जिन ल्यान्ड’ बन्न सक्छ। हामीले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सक्यौं भने यहाँका जनताको जीवनस्तरमा ठूलो आर्थिक परिवर्तन ल्याउन सक्छौं,’  उनले भने।

डोटी सुदूरपश्चिमका नौ वटै जिल्लाको केन्द्र रहेकाले पर्यटक हब बनाउन सकिने उनको भनाइ छ। ‘दिपायलदेखि अछाम ११७ किमी, दिपायल-बाजुरा १३५ किमी, दिपायल-बझाङ १९२ किमी, दिपायल-बैतडी १४२ किमी, दिपायल-दार्चुला २४९ किमी, दिपायल-डडेलधुरा ५७ किमी, दिपायल-कञ्चनपुर २१३ किमी र दिपायल-कैलाली १८७ किमीको दुरीमा छन्। सुदूरपश्चिमको मध्य केन्द्रमा रहेको डोटीलाई हामीले पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा विकास गर्न सक्छौं। यस्तो गर्न सकेमा डोटेली जनताको आर्थिक जीवनमा कायापलट नै गर्न सकिन्छ,’ विष्टले भने। 

युवा विदेश पलायन हुने क्रम पनि डोटीका लागि अर्को चुनौतीको विषय रहेको विष्टले बताए। यसले गर्दा गाउँमा बुढापाका बिरामी हुँदा अस्पताल पुर्‍याउने मानिसको समेत अभाव रहेको उनको भनाइ छ।

‘यो अवस्थाको अन्त्य गर्न सरकारले युवा स्वरोजगार मैत्री कार्यक्रम ल्याउनुपर्छ। कृषिमा लगानी र अनुदान बढाउनु पर्छ। युवाले गरेको लगानी कुनै कारणले जोखिममा पर्ने अवस्था आएमा राज्यले संरक्षण र प्रोत्साहनको नीति लिनुपर्छ। त्यसपछि मात्र हाम्रा सन्तति स्वदेशमै रोकिने छन् र आफ्नै डाँडाकाँडामा सुन फलाउन उद्धत हुने छन्,’ विष्टले भने। उनले आफूले सधैँ डोटी र डोटीका जनताका लागि सक्दो काम गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

उनले जनतासँगको भेटघाटका क्रममा विभिन्न स्थानमा आर्थिक सहयोग समेत प्रदान गर्दै आएका छन्। यसअघि एम्बुलेन्स खरिद, शिक्षा, स्वास्थ्यलगायत विविध क्षेत्रमा सहयोग गरेका विष्टले आफूले सामाजिक सेवालाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन्।