काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले जेठ १५ गते हाइ अलर्टमा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
आज नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले राजनीति व्यवस्था र संविधानविरोधी तत्व सल्बलाएको भन्दै गणतन्त्र दिवसका दिन राजावादीले गर्ने भनेको प्रदर्शनलाई लिएर हाई अलर्ट रहन निर्देशन दिएका हुन् ।
उनले भने, ‘कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिनुहोला ।’
प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने भन्दै थापाले त्यसका निम्ति सबै प्रहरी युनिटलाई तयारी अवस्थामाा रहन निर्देशन दिए ।
राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले यहि जेठ १५ गते काठमाडौंमा प्रदर्शन गर्दैछ ।
सो दिनको प्रदर्शनमा सहभागी हुन राजावादीहरुले उपत्यका बाहिरका जनतालाई पनि आह्वान गरेका छन् ।
गत चैत १५ गते तिनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाले ज्यान गुमाएका थिए भने ठाउँठाउँमा तोडफोड, आगजनी र लुटपाटका घटना भएका थिए ।
प्रतिक्रिया