धनुषा एमालेमा लफडा, मतदान प्रकृयामा अवराेध

काठमाडौं । नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा लफडा भएकाे छ । निर्वाचनमा दुई पक्षबीच कुर्सी हानाहान भएको हाे। अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान र मतदान प्रक्रिया रोकिन पुगेकाे छ ।

पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयनका लागि वैशाख २० देखि जनकपुरमा अधिवेशन जारी छ । अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मी नारायण यादवले उम्मेदवारी दिएका छन् । सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको ह

सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको एक नेताले बताए ।

आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोके पनि तयारी नपुग्दा बिहान १० बजेको लागि तय गरेको थियो । तर, उम्मेदवारको अन्तिम मतदानमावलीका विषयमा विवाद भएपछि मतदान अनिश्चित भएको छ ।

भोला यादव पक्षले मतदान सुरु गर्न माग गरिरहेका छन् भने लक्ष्मीनारायण यादव पक्ष अधिवेशन स्थलमै धर्नामा बसेका छन् ।
धनुषामा एमाले सचिव रघुवीर महासेठको समूह तथा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र संजीव झा ‘सुरज’ सहितका नेताहरूको धार छ । दुई समूहले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।

मण्डल, अरगरिया र झासहितका नेताहरुको समूहले निर्वाचनमा धाँधली गराउन लागेको रघुवीरमाथि आरोप लगाएका छन् । भोला यादव रघुवीरतर्फबाट उम्मेदवार बनेका हुन् ।