गुडिरहेको मोटरसाइकलमाथि ढुङ्गा खस्दा ओझाको मृत्यु

दार्चुला । सडकमाथिको भीरबाट खसेको ढुङ्गा लागेर दार्चुलाको लेकम गाउँपालिकाका शिक्षा अधिकृत ३८ वर्षीय केशवराज ओझाको मृत्यु भएको छ । हिजो लेकम गाउँपालिका–४ ओदालीमा भिरबाट खसेको ढुंगाले लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेकम गाउँपालिकाका प्रवक्ता सुरेशसिंह थापाका अनुसार वडा नम्बर ५ स्थित चौपातामा सोमबार शैक्षिक कार्यक्रम थियो । सामाजिक विकास कार्यालयले आयोजनाको गरेको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा ओझा सवार मोटरसाइकलमाथि ढुंगा बज्रिएको थियो ।

ओदालीमा जेसिबीको प्रयोग गरेर सडक कटिङ्गको काम भइरहेको छ । मोटरसाइकल चलाइरहेका शिक्षा अधिकृत ओझामाथि ढुंगा बज्रिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ढुङ्गाले लागेर गम्भीर घाइते उनलाई उपचारका लागि चौपाता हुँदै गोकुलेश्वर अस्पतालमा पुर्‍याइएको थियो । उपचारका क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।