काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गराउन सर्वोच्च अदालतबाट अनधिकृत पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिन हिरासतमा राख्न अनुमति दिईएकाे छ।
आज (शुक्रबार) जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।
विष्टले आफूले अनधिकृत पत्र लेखेको कुरा प्रहरीसँग स्वीकारेका छन् । यद्यपि उनीमाथि अनुसन्धान गरी प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराइ बयान लिनेछ । उनले चौधरीलाई पक्राउ गर्ने पत्र लेखेपछि सर्वोच्च अदालतले नै उनको पत्र अनधिकृत रहेको भन्दै प्रहरीलाई र डिल्लीबजार कारागार कार्यालयलाई पत्राचार गरेको थियो । सर्वोच्चले विष्टमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा ८४, ८७ र २७६ अनुसार अनुसन्धान र कारबाहीको माग गरेको छ । दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ ।
यसमा कसैले कुनै राष्ट्रसेवकलाई कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक लगाउन वा गर्न नपर्ने वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन नहुने उल्लेख छ। यो कसुरअनुसार उनलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना र दुवै सजाय हुने व्यवस्था छ । दफा ८७ अनुसार आदेशको अवज्ञा गर्न नहुने उल्लेख छ । ‘कसैले अधिकारप्राप्त अधिकारीको कानुन बमोजिमको आदेशअनुसार कानुन बमोजिम गर्नुपर्ने काम नगरी वा गर्न नहुने काम गरी त्यस्तो आदेशको अवज्ञा गर्न हुँदैन,’ उक्त दफामा भनिएको छ ।
यसरी अवज्ञा गर्नेलाई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । विष्टलाई यस कसुरमा पनि कारबाही गर्न पत्राचार गरेको हो । यस्तै उनलाई लिखतसम्बन्धी कसुरमा पनि कारबाही गर्न सर्वोच्चले सिफारिस गरेको छ। त्यसको दफा २७६ कीर्ते गर्न नहुने उल्लेख छ । ‘कसैले कीर्ते गर्न वा गराउन हुँदैन,’ उक्त दफामा भनिएको छ । यसमा कसुरको व्याख्या पनि गरेको छ ।
कसैले सर्वसाधरण वा कसैलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याउने वा आफू वा कसैलाई कुनै लाभ पुर्याउने नियतले कुनै झुट्टा लिखत वा झुट्टा विद्युतीय अभिलेख वा लिखत वा विद्युतीय अभिलेखको झुट्टा अंश वा भाग बनाउने काम गरेमा कीर्ते गरेको मानिने उल्लेख छ । यस कसुरमा पनि अदालतको फैसला वा आदेश कीर्ते गर्नेलाई आठ वर्षसम्म कैद र ८० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख छ। बुधबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपीको टोली रेशम चौधरीलाई पक्राउ गर्नका लागि भनेर कमलादीस्थित प्रज्ञा भवनमा पुगेको थियो । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकीकरणको घोषणा गर्ने कार्यक्रमका लागि गएका चौधरीलाई एक्कासी पक्राउ गरेपछि प्रहरीले किन र के मुद्दामा पक्राउ गर्यो भन्ने चासोको विषय बनेको थियो ।
प्रतिक्रिया