काठमाडौं । भारतको ओडिसा सरकारले कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा नेपाली छात्रा मृत भेटिएको घटनामा दुःख व्यक्त गर्दै छानबिन गर्न आदेश दिएको छ ।
बीटेक पहिलो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह बिहिबार राति आफ्नै होस्टलको कोठामा मृत भेटिएको घटनाको प्रहरीले अनुसन्धान थालिसकेको छ ।
गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० बर्सिया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टेलमा मृत फेला परेपछि विद्यार्थीहरूले आन्दोलन गरेका थिए ।
रुपन्देहीको भैरहवा निवासी लम्सालले आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे परिवारले नै त्यहाँ पुगेर उजुरी दिएको थियो । त्यो घटनापछि कलेज प्रशासनले नेपाली विद्यार्थीमाथि गरेको दुर्व्यवहारको ठुलो आलोचना भएपछि माफी माग्दै ती कर्मचारीलाई कारबाही सिफारिस गरिएको थियो । त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगले छानबिनपछि विश्वविद्यालयको निष्क्रियतालाई घोर लापरबाही ठहर गरेको थियो।
करिब १५ सय नेपाली विद्यार्थी अध्ययन गर्ने यो शिक्षालयमा लगातार यस्तो घटना भएपछि नेपाली विद्यार्थीहरूलाई थप चिन्ता थपिएको छ । यता नेपालको परराष्ट्र मन्त्रालयले पनि घटनाको सम्बन्धमा चासो ब्यक्त गर्दै घटनाको छानबिनका लागि कूटनीतिक पहल सुरु गरेको छ ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले बिहीबार नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्यथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको बताएकी छन् ।
प्रतिक्रिया