राज्यमन्त्रीमा नियुक्त गर्बुजाको शपथग्रहण आज हुँदै

काठमाडौं । नव नियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

उनलाई आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए ।

यसअघि १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङ (कान्छाराम) लाई राज्यमन्त्रीबाट बर्खास्त गरेपछि रिक्त पदमा गर्बुजा नियुक्त भएका हुन् । गर्बुजा नेपाली कांग्रेस म्याग्दीका सभापति समेत हुन् ।

उनी म्याग्दीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । राज्यमन्त्री गर्बुजाको शपथ ग्रहणलगत्तै आजै मन्त्रिपरिषदको बैठक पनि बस्ने छ ।