कार्यविभाजनबाट भाग्दै हेडक्वार्टरको उम्मेदवार भन्न रुचाउने सापकोटा: इकाईको चिट्ठी लेख्दै रमाउन थाले !

काठमाडाैं । जनार्दन शर्मा समर्थित हेमन्त राईलाई हराउन माओवादीको सारा शक्ति (वर्षमान र नारायणकाजी बाहेक) लागेर जिताईएका अध्यक्ष विजय प्रकाश शर्मा सापकोटा अखिल (क्रान्तिकारी) को इतिहासमा नै सर्वाधिक असफल अध्यक्षको रुपमा दर्ज हुने दिशामा अघि बढेका छन् । उपमहासचिव हुँदा गण्डकी मै पेलान खाएका सापकोटा हेडक्वार्टर समूह भन्दै एउटा समूहले प्रचण्डको नाम भजाएर चिट्ठामा अध्यक्ष जितेका हुन् भन्दै इकाई कै कार्यकर्ताले कानेखुसी गर्न थालेका छन् ।

निर्वाचित भएको ४ महिना बित्न लाग्दा समेत उनले कार्यविभाजन गर्न सकेका छैनन् । उमेरहदको विपक्षमा रहेका सापकोटालाई बिदा भएका बहुचर्चित ‘अंकल समूह’ ले समर्थन गरेको थियो । उक्त समूहलाई शक्ति बस्नेतले एकताबद्ध गर्दै ‘हेडक्वार्टर समूह’ नामकरण गरेका थिए । बस्नेतका फिल्ड कमान्डर हिमाल शर्मा, पंचा सिंह, उनकै पुर्व सचिवालयका सदस्य तिलकराज भण्डारी लगायत थिए ।

सापकोटाले कार्यविभाजन गर्न नसक्नुको प्रमुख कारण पदाधिकारीमा ‘हरितन्नम अल्पमत’ पनि हो । ३३ जना पदाधिकारीमा उनको पक्षमा खुलेर लाग्ने संख्या एउटा हातको औंलामा गन्न सक्ने जति छ । पदाधिकारीमा जनार्दन शर्मा समूहको बाहुल्यता छ । प्रस्ताव लैजाँदा फेल हुने डरले उनी कार्यविभाजनको शब्द कसैले निकाल्यो नि भड्किहाल्छन ।

कार्यविभाजन गर्न नसकेका सापकोटा यतिसम्म फुर्सदिला बनेका छन् कि उनी इकाईको कलेजलाई पत्र लेख्दै स्वागत कार्यक्रम, खेलकुद कार्यक्रमको प्रतिनिधि तोक्न थालेका छन् । केन्द्रीय अध्यक्षको यस्तो समानान्तर गतिविधि देखेपछि एकजना इकाई अध्यक्षले त हुत्ति भए इकाई चलाएर देखाउन च्यालेन्ज नै दिएको बताईन्छ । नाम नभन्ने सर्तमा ललितपुरतिरका एकजना क्रान्तिकारी नेताले भने, ‘सापकोटा त रोबोट पो रहेछन, रिमोट त पुर्व अध्यक्षले पो चलाउने रहेछन’ । उनले यस्तो भन्नुको पृष्ठभूमि छ:

समयबद्ध अनलाईनका अनुसार ‘वैशाख १४ –पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सातदोबाटोस्थित कसमस इन्जिनियरीङ कलेजमा अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष विजय सापकोटाले समानान्तर गतिविधि गर्ने प्रयास गरेको आरोप लागेको छ।

कसमस क्याम्पसमा वैधानिक र क्रियाशील इकाइ समिति सक्रिय रहँदै आएको अवस्थामा कुनै समन्वय नगरी अध्यक्ष सापकोटाले स्वागत कार्यक्रम र खेलकुद सप्ताहका लागि छुट्टै प्रतिनिधि तोक्दै पत्र काटेका छन्। यसरी समानान्तर गतिविधि गर्न खोजिएको भन्दै संगठनभित्रै असन्तोष चुलिएको छ।

यसअघि पनि सापकोटाले पुतलीसडकस्थित पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेजमा आफ्नो उपस्थितिमा समानान्तर गतिविधि सञ्चालन गर्न खोजेको घटना सार्वजनिक भइसकेको छ।’

क्रान्तिकारीमा निर्वाचनबाट बाहिरिएको पुर्व बादल समूहले पनि समानान्तर गतिबिधिको लागी चियागफ गर्न थालेको हल्ला छ !