नव नियुक्त शिक्षामन्त्री पन्तले शपथ लिए

काठमाडाैं । नव नियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले हिजाे (बुधबार) पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री नियुक्त गरेका थिए ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । माधव नेपाल नेतृत्वको समूहका एक प्रभावशाली नेता पन्त अन्तिम समयमा पार्टी विभाजनको विपक्षमा उभिएका थिए। नव नियुक्त शिक्षामन्त्री पन्तको काँधमा तत्काल शिक्षक आन्दोलनलाई टुंग्याएर विद्यालय शिक्षा विधेयक अगाडि बढाउनुपर्ने जिम्मेवारी छ । शिक्षकहरू शिक्षा ऐनको माग गर्दै शैक्षिक हड्ताल गरेर २३ दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।