काठमाडाैं । आमा र बहिनीलाई लिएर जम्मु कश्मिर घुम्न गएका सुदीव न्याैपानेकाे ज्यान गएकाे छ ।
जम्मुु कश्मीरमा आतंककारीकाे आक्रमणमा ज्यान गुमाएका सुदीप न्यौपानेको नेपाल ठेगाना बुटवल उपमहानगरपालिका–१४ रहेको खुलेको हाे । उपमहानगरका प्रवक्ता शिव रानाका अनुसार, न्यौपाने वडा नम्बर १४ का वडाध्यक्ष दधिराम न्यौपानेका भतिज पर्छन् । वडाध्यक्ष न्यौपानेले पनि सुदीप मारिएको पुष्टि गरेका छन् ।
सुदीप शनिबार मात्रै घुम्न भनेर घरबाट हिंडेका थिए । ‘गएको शनिबार घुम्न गएको थियो । आमालाई पनि लगेको थियो, छोरी ज्वाइँ पनि सँगै थिए । त्यस्तो दुःखद घटना भयो’, वडाध्यक्ष न्यौपानेले सुनाए । अरू तीन जना सकुशल रहेको उनले बताए । गत शनिबार आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइ उज्ज्वल काफ्लेसहित कश्मिर गएका सुदीपमाथि बन्दूकधारीहरूले अचानक आक्रमण गरेको वडाअध्यक्ष न्यौपानेले बताए । वडाध्यक्ष न्यौपानेका अनुसार, सुदीप धरानमा ब्याच्लरमा पब्लिक हेल्थ पढ्थे । जम्म–कश्मीरको पहलगाममा मंगलबार आतंकवादी आक्रमण भएको थियो । जसमा कम्तीमा २७ पर्यटकको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमले आक्रमणमा परेुर नेपाली नागरिक सुदीप न्यौपानेको ज्यान गएको बताएका थिए । तर, नेपालको ठेगाना र आधिकारिकता पुष्टि हुन सकेको थिएन । सुदीपका बुवा बुटवल–१४ बेलबरियामा विक्षिप्त अवस्थामा छन् । सुदीपको शव बुधबार नेपाल ल्याउने तयारी गरिएको काका दधिरामले बताए । ‘शवलाई कश्मीरबाट दिल्ली र दिल्लीबाट काठमाडौं ल्याउने तयारी गरिएको छ, अहिले म काठमाडौं पुगिसकेको छु १२ बजे कश्मीरबाट उड्ने समय छ,’ उनले सुनाए । वडा अध्यक्ष न्यौपानेका अनुसार बन्दुकधारीहरूको समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई ‘कुन धर्म समूह हो’ भन्दै सोधेपछि एकाएक गोली हानेको थियो । साथमा रहेका आमा, बहिनी र ज्वाइँ सकुसल छन् ।
प्रतिक्रिया