किन हाने आचार्यले आफैमाथि गोली ?

काठमाडौं । दाङमा एक व्यक्तिले आफैंलाई गोली प्रहार गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् ।

उनको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले जानकारी दिएका छन् ।
‘लाइन्सेन्सवाला बन्दुकले आज घरमै आफैंमाथि गोली चलाएको पाइएको छ,’ एसएसपी जीसीले बताए । गोली लागेर उनको मृत्यु समेत भएको छ ।

रेडक्रस दाङका पूर्वअध्यक्ष आचार्यले किन आफैंमाथि गोली चलाए भन्ने अहिलेसम्म खुलेको छैन ।

गोली चलेको जानकारी प्रहरीले आज दिउँसो साढे ३ बजे पाएको थियो । लगत्तै डीएसपी नेतृत्वको एक टोली घटनास्थलमा पुगेको थियो ।

प्रारम्भिक अनुसन्धानमा आचार्यले आत्महत्या गरेको जस्तो देखिए पनि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।