काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिवन्ध लाग्ने दाेहाेर्याएका छन् ।
आज काठमाडौंमा सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सवै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिवन्ध लाग्ने स्पष्ट पारेका हुन् ।
सञ्चारमन्त्रालयले चैत ७ गते सूचना निकालेर एक महिनाभित्र फेसबुक दर्ता हुन आवह्रान गरेको थियाे । सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एकमहिनाको म्याद सकिन केहि दिन बाँकी रहेको भन्दै उनले फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे । उनले सामाजिक सञ्जाल सम्बन्धी कानून कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभइ नियमन गर्नका लागि ल्याइएको स्पष्ट पारे ।
त्यस्तै मन्त्री गुरुङले चैत्र १५ गते काठमाडौंमा राजावादीले गरेको आन्दोलन प्रतिगामी र संविधान विरोधी आन्दोलन भएको बताए। शान्तिपूर्ण भेला हुन पाउने अधिकार, संविधान बिपरितको कार्यका लागि प्रयोग गर्दा हिंसात्मक घटना भएको भन्दै उहाले त्यसमा संलग्न सवैलाई कारवाही हुने स्पष्ट पार्नुभयो । उहाले मुलुकमा राजतन्त्रको कुनै गुञ्जायस नरहेको जिकिर गरे ।
उहाले प्रविधिको दुरुपयोग गर्दै मुलुक, राजनीतिक दलका साथै जनतालाई कमजोर बनाउने काम भइरहेको भन्दै सरकार गम्भीर भएर यसलाइ रोक्न लागिपरेको बताए ।
कार्यक्रममा सञ्चारिका अग्रणी सम्मान पत्रकार उषा लोहनी र डा हरिकला अधिकारीलाई प्रदान गरिएको थियो । त्यस्तै सञ्चारिका समानता पुरस्कार धनु विश्वकर्मालाई प्रदान गरिएको छ भने स्व उमा सिंह पत्रकारिता पुरस्कार पत्रकार सपनाकुमारी कर्णलाई प्रदान गरिएको छ ।
प्रतिक्रिया