गरिखान नदिएको भन्दै बस माइतीघर–नयाँ बानेश्वर सडकमै तेर्स्याउने यातायात ब्यवसायीको चेतावनी

काठमाडौ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले माइतीघर–बानेश्वर सडक तत्काल सुचारु नगरे सडकमै गाडी तेर्स्याउनेसम्मको चेतावनी दिएका छन् ।


१७ दिनदेखि भइरहेको शिक्षक आन्दोलनका कारण सार्वजनिक यातायात अवरुद्ध भएपछि महासंघले अबको केही दिनमै माइतीघर–बानेश्वर सडकमा गाडी चल्न नदिए सडकमै गाडी तेस्र्याउनेसम्मको चेतावनी दिएका हुन् ।

महासंघका महासचिव भरत नेपालले शिक्षक आन्दोलनका कारण १७ दिनदेखि यातायात मजदुर र यात्रु मर्कामा परेको बताउँदै आइतबारसम्म सडक खुला नभए सडकमा गाडी तेस्र्याउने चेतावनी दिए ।

महासंघले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत अवरुद्ध सडक सुचारु गरिदिन बिहीबारै गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र पठाएको छ ।

१७ दिनदेखि शिक्षकहरूले माइतीघर–बानेश्वर सडकमा मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म प्रदर्शन गर्दै आएका छन् । उक्त समयमा माइतीघर– तिनकुने सडकमा सवारीसाधन चल्न नपाउँदा यातायात मजदुर तथा यात्रुले सास्ती खेप्नुपरेको छ ।