सिकार खेल्न जाँदा गोली लागेर सार्कीको मृत्यु, १० जना पक्राउ

दिपायल । डोटीमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको गोली लागेर मृत्यु भएको हो ।

बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाकिनारमा शिकार खेल्न गएका रजेडका कमलसिंह खड्काले बोकेको भरुवा बन्दुक पड्किँएर सार्कीको दायाँ छातीमा गोली लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।

बन्दुक बोक्ने खड्का, रजेडका खेम खड्का, तारासिंह खड्का, सोही गाउँपालिका– २ तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्तीमगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगरलाई पक्राउ गरिएको खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तले जानकारी दिए ।