शिक्षकहरुले आन्दाेलन नराेक्ने

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई निरन्तरता दिने भएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन जारी रहने जानकारी दिएका हुन् ।

हिजाे(मंगलबार )बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन आह्वान गर्ने र संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने निर्णय गरेको थियो । यससँगै सरकारले शिक्षकहरूलाई आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेको थियाे ।

तर, महासंघले आफूहरूले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिएको निष्कर्ष निकाल्दै प्रदर्शनलाई निरन्तरता दिने जनाएको छ ।

महासंघका अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्, ‘देश भरिका सबै साथीहरू आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईँलाई काठमाडौँको आन्दोलनको मोर्चामा पर्खिरहेका छौँ । यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौँ आइपुग्नुहोला ।’