दुर्गालाई अदालत लगियो

काठमाडौ । भद्रपुरबाट पक्राउ गरी काठमाडौ ल्याईएका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालत पेश गरिएको छ । उनलाई म्याद थपका लागि अदालत पेश गरिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयबाट उनलाई अदालत लगिएको हो । प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको छ । उनीसँगै पक्राउ परेका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न प्रहरीले माग गरेको छ ।

यसअघि गत २६ चैतमा सोही प्रदर्शनमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो ।

उनीहरूसँगै म्याद मिलान गर्नका लागि १२ दिनको म्याद थप गर्नका लागि समय मागिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

भारतबाट पक्राउ परेका प्रसाईंलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।