यसकारण अमेरिकामा समातिए रास्वापा केन्द्रीय सदस्य थापा

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका रास्वापा सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विश्वास पात्र थापालाई अमेरिकी प्रहरीले पक्राउ गरेको हो ।

अमेरिकी आप्रवासन र भन्सार प्रवर्तनले थापालाई एक साता अगाडि पक्राउ गरेको अमेरिकाबाट सञ्चालन हुँदै आएको समाज टाइम्स अनलाइनले जनाएको छ । नेपालबाट अमेरिका जाँदै गर्दा थापा पेन्सिल्भेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् ।

उनलाई अहिले फिलाडेल्फिया संघीय हिरासत केन्द्रमा राखिएको छ । बाल्टिमोर एशोसिएसन अफ नेप्लिज इन अमेरिका ९बाना० का संस्थापक अध्यक्ष थापा मेरिल्याण्ड बाल्टिमोर बासिन्दा हुन् । पछिल्लो समय उनी नेपालको राजनीतिमा सक्रिय रहेका थिए । थापाले रवि लामिछानेको निकट रहेर काम गरेका थिए । थापा यस अगाडि पनि मेरिल्याण्डमा सवारी लाइसेन्स दुरुपयोग अभियोगमा जेल बसेका व्यक्ति हुन् ।

थापा ग्रिन कार्ड होल्डर हुन् । समाज टाइम्ससँग थापाका बारेमा कुराकानी गर्दै लामो समयदेखि अमेरिकामा कानून व्यवसाय गर्दै आएका वरिष्ठ अधिवक्ता खगेन्द्र जिसीले थापाको विषयमा पूर्ण विवरण आइनपुगेको बताएका छन् । उनले भनेका छन्, ‘चार्ज सिट आइ पुगेको छैन, ठ्याक्कै के हो भनेर अहिलेसम्म भन्ने स्थिति छैन ।

जिसीले ग्रिन कार्ड भएको व्यक्ति लामो समय अमेरिका बाहिर बस्दा सोधपुछ गर्ने गरेको पाइएको भए पनि थापाको बारेमा अन्य के कति कारणले पक्राउ परेका हुन अहिले नै भन्न नसकिने बताए । ग्रिन कार्ड भएको व्यक्ति धेरै पटक ओहोरदोहोर गर्दा वा लामो समय अमेरिका भन्दा बाहिर बस्दा आईसले प्रश्न गर्न सक्ने जिसीले बताएका छन् ।