माघ सकिनै लाग्दा न हिउँ न वर्षा

गण्डकी । यसपालिको हिउँदयाममा हिमाली जिल्लामा हिउँ पर्न सकेको छैन। जाडोको वास्तविक महसुस गर्न नपाइ माघ महिना पनि निस्किँदै छ। पहिला जहाँ हिउँले हिमाली र उच्च पहाडी क्षेत्रमा सबै स्थान सेतो पार्दथ्यो, त्यहाँ अहिले सुक्खापन छाएको छ।

गाउँबस्ती र डाँडाकाँडा अब फुस्रा भएका छन्। कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि अधिकृत दिलीप नेपालीले हिउँ र वर्षा नहुँदा किसानलाई गहिरो समस्याको सामना गर्नुपरेको बताएका छन्।हिउँ नपर्दा स्याउ खेतीमा असर पर्छ, रोककिराको प्रकोप बढ्न सक्छ, उनले भने,मुस्ताङमा उवा, जौँ, गहुँ, लसुन र आलु जस्ता बालीको उब्जाउ क्षमता पनि घट्छ।

मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उत्पादन र गुणस्तरमा गिरावट आउने उनले बताए। पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव हिमाली भेगमा गहिरो भई रहेका अध्ययनहरूले पुष्टि गरेका छन्। यदी यस्ता मौसमी घटनाहरू निरन्तर घटिरहन्छ भने हिमाली क्षेत्रमा नयाँ खेतीबालीको आगमन र परम्परागत उत्पादनको लोप हुने खतरा रहेको छ। मुस्ताङको उपल्लो भेगमा काँक्रा र गोलभेँडा जस्ता तरकारीजन्य बाली पनि उब्जाइन्छ, जुन पहिले कम मात्रामा मात्र उब्जाउने गरिन्थ्यो।

समयमा हिउँ र वर्षा नपर्दा किसानहरूको दुःख बढेको छ। मुस्ताङमा हावा मात्र चल्ने तर हिउँ नपर्ने अवस्था देखिएको छ। गत वर्षको हिउँद पनि हिउँ र वर्षा बिना बितेको थियो। हिउँ नपर्दा सिँचाइ नभएका क्षेत्रका अन्नपात माटोमै सुक्ने गरेका छन्। घरपझोङ गाउँपालिका–२ मार्फाका स्याउ किसान दीपक लालचनले हिउँ नपर्दा फलफूल र अन्नबालीलाई आवश्यक चिसोपनाको अभाव भएको बताउँछन्। ूस्याउको फूल खेल्न र फल लाग्न चिसोपनाको खाँचो पर्छ, उनले भने चिस्यान नपुगेमा स्याउको उत्पादनमा कमी आउन सक्छ, तर मार्फामा सिँचाइको सुविधा भएकाले चिन्ता छैन।

थासाङ गाउँका किसानलाई भने सुक्खा मौसमले चिन्ता थपिरहेको छ। थासाङमा सिँचाइको उपयुक्त व्यवस्था छैन। हिउँ र वर्षा नपर्दा खेती प्रणालीसँगै हिमाली जनजीवन पनि प्रभावित भएको छ।

लालचनले भने, ूकडा जाडो हुनुपर्ने याममा न्यानो महसुस भइरहेको छ।मुस्ताङ, मनाङ, म्याग्दी जस्ता पर्यटकीय स्थलहरू पनि उजाड देखिएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायी जुलीले पुनले अहिलेसम्म हिउँ नपरेको बताउँछन्। गण्डकी प्रदेशका हिमाली जिल्लामा अहिलेसम्म हिमपात भएको छैन र वर्षा पनि धेरै कम भएको छ।

छिटपुट वर्षा नहुँदा र हिउँ नपर्दा मुस्ताङ, मनाङ, म्याग्दी र बागलुङको उच्च क्षेत्रको हिउँदे बालीमा बढी असर पुगेको छ। बिना पानी र हिमपात असिंचित स्थानको खेतीमा ठूलो क्षति पुगेको कृषि अधिकारी नेपालीले बताएका छन्।

बाह्रैमास नहर र कूलो सिँचाइको सुविधा भएका क्षेत्रहरूमा भने समस्या नहुने कृषि अधिकारी नेपालीले बताए। हिउँ र वर्षा हुने आशामा रहेका किसानलाई खडेरीले ठूलो असर पर्ने उनको भनाइ छ। खडेरीले पहाडी क्षेत्रका गहुँ, तोरी र तरकारीजन्य बालीमा बढी असर पर्ने गरेको छ।

हिउँ नपर्दा हिमालमा पर्यटकको आकर्षण घटेको छ, कालापत्थर जस्ता हिमाल पनि कालो देखिन थालेका छन्।

विश्वव्यापी जलवायु परिवर्तनले नेपालका हिमाली क्षेत्रमा गम्भीर असर पारेको छ, जसका बारेमा विज्ञहरू र अध्येताहरूले भनेका छन्। पर्यावरणीय अध्ययनका अनुसार, नेपालको हिमाल क्षेत्र विश्वका सबैभन्दा बढी संवेदनशील क्षेत्रमध्ये पर्छ। ूविश्वको औसत तापमान वृद्धि १।५ प्रतिशत हुँदा हिमालय क्षेत्रको तापमान १.८ देखि २ डिग्री सेल्सियससम्म बढ्न सक्छ ,कुलचन्द्र अर्यालले भने।

जलवायु परिवर्तनको असर नेपालका हिमाली क्षेत्रमा नकारात्मक रुपमा प्रभाव पारिरहेको छ। हिमालको हिमनदी पग्लिने र नयाँ हिमताल थपिने प्रक्रिया तीव्र भइरहेको छ। वर्तमान गतिमा हिउँ पग्लिँदै गएमा केही दशकमा नेपालका हिमाल कालापत्थरमा परिणत हुने अनुमान गरिएको छ। यदि तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रयास गरिएको खण्डमा पनि, हिन्दूकुश–हिमालय क्षेत्रको ३६ प्रतिशत हिउँ भण्डार यस शताब्दीको अन्त्यसम्ममा रित्तिने भन्ने अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ।