फेरी हानियो पहिचान पक्षधरमाथि गोली

काठमाडौं । पाथीभरामा केबलकार निर्माणको विरोधमा उत्रिएका पहिचान पक्षधर आन्दोलनकारीमाथि फेरी गोली प्रहार भएको छ । योसँगै झापाको दमकमा आन्दोलनले झन उग्र रुप लिएको छ । मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आइतबार र सोमबार गरी दुई दिन अरुणपूर्वका ९ जिल्लामा बन्दको आह्वान गरेका छन् ।

सोही क्रममा दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले दुई राउन्ड ‘गोली चलाएको’ प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपी प्रहरीले भने गोली नचलाएको दाबी गरेको छ ।

यसअघि यही माघ १२ गते पनि ताप्लेजुङमा प्रहरीले ‘नो केबलकार’ पक्षमाथि गोली प्रहार गरेको थियो । उक्त क्रममा चारजना प्रदर्शनकारी र २० जना प्रहरी घाइते भएका थिए । घाइतेमध्ये तीन प्रदर्शनकारीको गम्भीर भएका थिए ।

प्रहरीले चलाएको गोली लागेर यामबहादुर लिम्बूको तिघ्रामा, सगुन लावतीको छातीमा गोली लागेको छ भने भीरबाट लडेका धर्मान पालुङ्वाको कुम भाँचिएको छ । उनीहरूको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

‘नो केबलकार’ समूहले केबलकार निर्माणको काम तत्काल रोक्नुपर्ने, केबलकार निर्माण क्षेत्र काफ्लेपाटीबाट सशस्त्र प्रहरीको टोली हटाउनुपर्ने र पक्राउ परेका तीनजनालाई विनासर्त रिहा गर्नुपर्ने माग राख्दै आएको छ ।