बामदेव गौतम एमालेमा जाने भएपछि राजनीतिमा नयाँ तरंग

काठमाडौ । एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतम नेकपा एमालेमै फर्किने भएपछि नेपाली राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । उनले शुक्रबार र आज आइतबार गरेर दुई पटकको भेटमा उनी एमालेमै फर्किन राजी भएका हुन् ।

लामो समय गौतमको प्रेस सहयोगीको भूमिकामा रहेका समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीले शुक्रबार पार्टी र सङ्गठन परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।
उनी प्रवेश गरे लगत्तै ओलीले गौतमलाई छलफलका निम्ति बालुवाटार बोलाएका हुन । लामो समयदेखि नेकपा एसमा प्रवेश गर्ने बिषयमा छलफलमा रहेका गौतम अन्ततः एमाले प्रवेश गर्न लागेका हुन्। नेकपा एसको भद्रगोल अवस्था देखेर उनलाई त्यहाँ जान मन लागेन रअन्ततः आफ्नै मातृ पार्टी एमालेमा फर्कन लागेका हुन् ।

गौतमले नेतृत्व गरेको पार्टी एकता राष्ट्रिय अभियानका नेता नेता डीबी कार्कीका अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गौतमले दुई चरणमा कुराकानी गरिसकेका छन् । शुक्रबार बालुवाटारमा भेटेरै कुरा गरेका गौतमले आज बिहान ओलीसँग फोन सम्बाद गरेको उनले बताए ।

‘अब हामी नअल्मलिने भयौँ, एमालेमै जाने भयौँ’, कार्कीले भने । पार्टीको यस्तो तयारीसँग असन्तुष्ट चार जनाले पार्टी छाडेको पनि उनले बताए । उनका अनुसार, एकता अभियानमा सरिक भएका महेन्द्र अर्याल, हरि काफ्ले, इन्द्र सुब्बा र डिल्लीराज भट्टले एकीकृत समाजवादीसँग एकता हुनुपर्ने अडान लिएका थिए । एमालेमा जाने भएपछि उनीहरूले अभियानबाट अलग भएको घोषणा गरेका हुन् ।

एकीकृत समाजवादीले एकताका नाममा अलमल्याएको र शङ्काको दृष्टिले हेरेका कारण उक्त पार्टीसँगको सम्पूर्ण संवाद समाप्त भएको कार्कीले बताए । ‘अब हाम्रो कुरा कोहीसँग हुँदैन, अहिले एमालेसँग एकतामा जान्छौँ, त्यसपछि अरु वामपन्थीलाई एमालेको धारमा ल्याउने प्रयासमा लाग्छौँ’, उनले भने ।


उता बामदेब एमालेमा जाने भएपछि उनका केही पदाधिकारी भने माओवादीमा प्रवेश गर्ने भएका छन् ।