कैलाली । कञ्चनपुरमा एक महिला २८ लाख वीमा रकम हत्याउन आफ्नै श्रीमानको हत्या गरेको अभियाेगमा पक्राउ परेकी छिन् ।
उनले भारतीय युवकसँग मिलेर आफ्नै श्रीमानकाे हत्या गरेकि थिईन । बेलौरी नगरपालिका–६ भूराकोटका ४९ वर्षीय सियाराम रानाको हत्यामा उनको श्रीमती जनककुमारी मात्रै संलग्न नभएर श्रीमतीसँग सम्बन्धमा रहेका भारतीय युवक पनि जोडिएको प्रहरीको अनुसन्धानबाट देखिएको हो ।
गत १३ मङ्सिरमा जनककुमारीले आफ्नो भारतीय प्रेमी फारुखसँगको योजना बनाएर श्रीमान् सियारामको हत्या गरेको प्रहरीले ठहर गरेको छ । भारतको उत्तर प्रदेश, लक्खिमपुर खीरी जिल्ला, सम्पूर्णानगर बस्ने अन्दाजी ३० वर्षीय फारुख र सियारामकी श्रीमती केही समयदेखि सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो । सितारामले गरेको २८ लाखको बीमा हत्याउने र श्रीमानको मृत्युपछि सँगै बस्ने योजना बनाएर जनककुमारीले हत्या गरेकी थिइन् ।
पुस १३ गते शौचालयमा लडेर मृत्यु भएको बयान दिएकी जनककुमारीले १४ गते आफैले रिसमा आएर इट्टाले हानेर हत्या गरेको बयान दिएकी थिइन् । शवको अवस्था हत्या भएको जस्तो देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यसपछि नै प्रहरीले हत्याको कारण पत्ता लगाएको थियो ।
मृतकको शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटेपछि घटना थप शङ्कास्पद देखिएको थियो । केहीबेरको केरकार पछि श्रीमती जनककुमारीले दुवै जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला इँटा प्रहार गरी हत्या गरेको स्वीकार गरेकी थिइन् । तर, त्यो बेला उनले आफ्नो प्रेमी समेत रहेका भारतीय नागरिकका विषयमा कुनै कुरा खोलेकी थिएनन् ।
सियारामले गरेको २८ लाखको बिमा, जनककुमारीको कल डिटेल र स्थानीय केहीको बयानका आधारमा घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको थियो । त्यस क्रममा भारतीय युवकसँगको सम्बन्ध र सम्पर्कपछि श्रीमानको हत्या गरेको प्रहरीले ठहर गरेको हो ।
अनुसन्धानका क्रममा भारतीय नागरिक फारुखसँग मृतककी श्रीमतीको प्रेम सम्बन्ध रहेको देखिएको बताउँदै दुवै जनाले योजना बनाएर हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेशराज जोशीले जानकारी दिए ।
रानाको हत्यामा भारतीय नागरिकको संलग्नता देखिएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका भारतीय नागरिक नेपाल–भारतमा तस्करीको सामान ओसारपसार गर्ने काम गर्दै आएको प्रहरीको भनाई छ ।
सियारामकी श्रीमतीलाई जिल्ला अदालतले ८ पुसमा पुर्पक्षका लागि कारागार चलान गरेको छ भने पक्राउ परेका भारतीय नागरिकविरुद्ध कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया