माओवादीकाे केन्द्रीय कमिटीमा प्रस्तुत हुने एजेण्डा तय

काठमाडाै । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने एजेण्डा तय भएकाे छ ।

पुस २१ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकका लागि एजेण्डा तय गरेको हाे । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता शीर्षकको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनसहितका विषयमा छलफल गर्ने गरी एजेण्डा तय गरेको हो ।

त्यस्तै अध्यक्षलगायत प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गरिने, अगामी कार्ययोजनाका एजेण्डा समेत तय भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । अहिले संविधान संशोधन नभई संविधानको प्रभावकारी कार्यान्वयनमा जानुपर्नेमा प्रचण्डको जोड रहेको प्रवक्ता सापकोटाले बताए ।

संविधान संशोधन गर्नुपर्ने भएमा राष्ट्रिय दृष्टिकोण कायम गर्नुपर्नेमा माओवादीको धारणा रहेको उनको भनाइ छ । यद्यपि, संविधान संशोधनभन्दा पनि संविधानको वास्तविक मर्म र भावनाअनुसार यसको कार्यान्वयनको आवश्यकता रहेकोमा जोड दिएको उल्लेख गर्दै सापकोटाले भने, ‘हाम्रो पार्टीलाई के लागेको छ भने, संविधान जसरी इमानदारीपूर्वक कार्यान्वयन गरिनुपथ्र्यो, त्योअनुसार अभ्यास भएको छैन ।’