माओवादी अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीमा पेश गर्ने प्रतिवेदन लेखनमा जुटे

काठमाडाै । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी वैठकको तयारी तीब्र बनाएसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने प्रतिवेदन लेखनमा जुटेका छन् ।

यही पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने दस्तावेज लेखनमा उनी केन्द्रित भएका हुन् ।

अध्यक्ष प्रचण्ड बैठकमा पेश गर्ने प्रतिवेदन लेखनमा जुटिसकेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले पुष्टि गरे । बैठकमा प्रचण्डले पार्टीको पछिल्ला समामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषय समेटिने उनले जानकारी दिए ।

आफू नेतृत्वको सरकार ढलेर प्रतिपक्षमा पुगेको पाँच महिनापछि प्रचण्डले सिंगो केन्द्रीय कमिटीको बैठक राख्न लगाएका हुन् ।

केन्द्रीय कमिटीको बैठकअघि प्रचण्डले सबै प्रदेशस्तरीय परामर्श बैठक गरिसकेका छन् । माओवादीमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व छाड्नु पर्नेदेखि प्रदेशस्तरीय परामर्श समितिको बैठकमा आएको सुझावलाई दस्तावेजमा समेट्ने तयारी गरेका छन् ।

केही समय अघि शर्माको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पनि छलफलमा लैजाने प्रचण्डले आश्वासन दिएपछि पार्टीभित्र देखिएको तरंग हल भएको थियो ।

माओवादीले यही केन्द्रीय कमिटीको बैठकबाट पार्टी एकताको विषयमा पनि निर्णय गर्ने तयारी गरेको छ । माओवादीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपासँग एकताको तयारी गरेको छ । यस्तै, विचार मिल्ने शक्तिहरूसँगको पनि एकता र सहकार्यको प्रयास गर्ने नीति लिएको छ ।

यही केन्द्रीय कमिटीको बैठकले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्षमा मनोनीत गर्दै आगामी महाधिवेशनको बारेमा पनि बैठकले निर्णय गर्ने तयारी गरेको छ । आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी, पदाधिकारीसहित अन्य कमिटी पनि विधान अनुसार सानो बनाउनुपर्नेमा नेताहरूको जोड छ ।

अहिले माओवादीको केन्द्रीय कमिटी नै जम्बो आकारको छ । आसन्न बैठकमा ८२५ जना सहभागी हुने सचिव उपाध्यायले बताए । केन्द्रीय कमिटीका संख्या ठूलो भएकाले धुम्बारहीस्थित एक पार्टी प्यालेसमा बैठक बस्न लागेको समेत बताए । बैठकमा पेश हुने एजेण्डाबारे थप छलफल गर्नको लागि १८ गते स्थायी कमिटीको बैठक बस्न लागेको उनले सुनाए ।

लामो सत्ता यात्रामा रहेको माओवादी अहिले प्रमुख प्रतिपक्षको जिम्मेवारीमा छ । ०८४ सम्म प्रमुख प्रतिपक्षको जिम्मेवारीमा बसेर पार्टीलाई ०६४ को अवस्थामा फर्काउने संकल्पसहित जनतामा जाने माओवादीको तयारी छ ।

हालै भएको स्थानीय तहको उपनिर्वाचनबाट उत्साहित माओवादीले कांग्रेस र एमाले भ्रष्टाचारी जोगाउन मिलेको भन्दै तल्लो तहसम्म खबरदारी सभा पनि गर्दै आइरहेको छ ।