काठमाडाै । दक्षिण कोरियामा भएको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ । स्थानीय समयअनुसार आज बिहान ९ बजे बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ कलसाइनको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्र नै दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६२ पुगेको उद्धारमा खटिएका अधिकारीहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार संस्था योनहाप न्युजले जनाएको । दुई जनालाई भने जीवितै उद्धार गरिएको छ । मुआनमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर जहाज पर्खालमा ठोक्किएको थियो ।
पर्खालमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो । केहीबेरमै विमानस्थल धुवाँको मुस्लोले ढाकेको योनहाप न्युजले जनाएको छ । जहाजमा १७५ यात्रु र चालक दलका ६ सदस्य सवार थिए। दुर्घटनामा जहाज पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने उद्धार कार्य चलिरहेका कारण मृत्यु हुनेको संख्या पनि बढ्न सक्ने बताइएको छ । विमानस्थलका अधिकारीहरूले जहाजको ल्याण्डिङ गियरमा खराबीका कारण दुर्घटना भएको बताएका छन् ।
प्रतिक्रिया