प्रहरी भान्छेमाथि गाेली हानी हत्या प्रकरण: राअवि इन्सपेक्टरसहित तीन जना पक्राउ

वीरगन्ज ।गत शनिबार बाराका प्रहरी भान्से राजकुमार रुम्बाको हत्या प्रकरणमा राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरीको विशेष टोलीले तीनै जनासँग गरेको सोधपुछ र बयान तथा घटनासँग सम्बन्धित सबुत प्रमाण फेला परेपछि उनीहहरुलाई नियन्त्रणमा लिएकाे हाे ।

व्यक्तिगत रिसिइबी तथा आर्थिक लाभका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाईएकाे छ।

राष्ट्रिय अनुसन्धान विभाग बाराका इन्स्पेक्टर श्रीकान्त तिवारीसहित तीन जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको हाे । पक्राउ परेका तीनै जनासँग जिल्ला प्रहरी कार्यालय बारामा राखेर सूक्ष्म अनुसन्धान चलिरहेको छ ।

प्रहरीको हत्यामा संलग्न अन्य दुई जना पनि बारा जिल्लाको इनर्वा सिराको रहेको प्रहरीले जानकारी दिएको छ । यद्यपि, बाँकी दुई जनाको नाममा भने अनुसन्धान जारी नै रहेकोले प्रहरी अझै गोप्य राखेको छ । 

गत शनिबार बारामा प्रहरीका भान्से रुम्बालाई गोली हानी हत्या गरिएको थियो । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–११ स्थितको सडकखण्डमा उनको शव कारमा बेवारिसे अवस्थामा फेला परेको थियो ।

बागमती प्रदेशको ०१–०२८–च– ७६१६ नम्बरको गाडी लिएर कलैया जानका लागि उनी निस्किएका थिए, तर त्यसको भोलिपल्ट मृत भेटिएका थिए । 

इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी भएका रुम्बा हाल सिमरा एयरपोर्टमा कार्यरत रहेका थिए ।