दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न फेरि सर्बाेच्चकाे आदेश

काठमाडाै । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न फेरी सर्वोच्च अदालतले आदेश दिएको छ। आज बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हाे ।

बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासमा प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो ।

साइबर अपराधको कसुरमा उनी गत मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी मंसिर २७ गते आपराधिक लाभ र संगठित अपराधको कसुरमा पुनः पक्राउ परेका थिए ।

दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने सर्वोच्चले आदेश दिएपछि उनलाई शुक्रबार सर्वोच्चमा हाजिर गराइएको थियो । व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं र उनका सहयोगीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान जारी राखेकाे छ ।