सहकारीकाे रकम हिनामिना गर्ने जाे-कसैले उन्मुक्ति पाउदैन: गृहमन्त्री लेखक

बुटवल । गृहमन्त्री रमेश लेखकले सहकारीको रकम ठगी गर्ने, अपचलन गर्ने र हिनामिना गर्ने जाे-कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् ।

आज नेपाल प्रेस युनियनले रूपन्देहीमा गरेको पत्रकार भेटघाटमा बाेल्दै मन्त्री लेखकले सहकारीको रकम ठगी गर्ने सयौं मान्छे जेल गएको बताउँदै उनले अब पनि कसैले उन्मुक्ति नपाउने बताएका हुन्।

उनले सहकारीको रकम अपचलनमा मुछिएका सयौं व्यक्तिहरुलाई कार्बाही भए पनि एक जनाको बिषय मात्र चर्चामा आएको बताए ।

गृहमन्त्री लेखकले रास्वपा सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा अमर्यादित व्यवहार नभएको दावी गरे । मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदुरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने पनि उनले बताएका हुन् ।

‘दिनभरि काम गरेर भोकै बसेर जम्मा गरेको रकम खाई दिने अनि भिड जम्मा गरेर न्यायका कुरा ? त्यसो गर्ने हो भने प्रहरी अदालत न्यायाधीश किन चाहियो ? मकै पोल्ने ठेला चलाउनेको न्याय खोई ? उनले प्रश्न गरे । गृहमन्त्री लेखकले थपे, ‘लाखौं गरिब मान्छेको अर्बौं रुपैयाँ हिनामिना गर्ने, ठगी गरेर अर्काको रकम खाईदिने अनि मानवअधिकार उल्लंघन भयो भन्ने ? उहाँमाथि कुनै अवाञ्छित गतिविधि भएका छैन ।’ गृहमन्त्री लेखकले काठमाडौंबाट पक्राउ गरी पोखरा लैजाने क्रममा लामिछानेले जहाजमा जान नमानेको बताउँदै चितवनबाट पोखरा जाँदा मानवअधिकार उल्लंघन भयो भन्नु कुतर्क रहेको पनि बताए ।

‘तर रविजीले मानवअधिकार हनन् भयो भनेर अदालत समक्ष भन्नु भएको छैन बाहिरको कुरा मात्रै हो,’ उनले भने । गृहमन्त्री लेखकले सहकारी ठगीका मुख्य योजनाकार जीवी राईलाई ल्याउने कुरामा सरकार गम्भीरतापूर्वक लागेको दावी गरेका छन् । उनले कुनै पनि सरकार वा गृहमन्त्री फेरिँदा अपराध र अनुसन्धानका फाईल रोक्न प्रहरीलाई दवाब दिने काम बेठीक भएको बताए ।

उनले मुलुकमा अस्थिरता र अप्ठ्यारो अवस्था सिर्जना भएको बेला नेपाली कांग्रेस र नेकपा एमाले जस्ता ठूला दल एकठाउँ भएको बताए गर्दै अहिले मुलुक आर्थिक र सामाजिक रुपमा समस्या बढ्दै गएकाले एमाले र कांग्रेसबीच गठबन्धन बनेको बताए ।

उनले सरकार परिवर्तनको कुरा सरकार अस्थिर बनाउन चलाईएको भ्रम भएको भन्दै दुई दलका बिचमा सहमति भएअनुसार गठबन्धन ०८४ सम्म चल्ने दाबी गरे ।