नेकपा एसले बनायाे २४ सदस्यीय सचिवालय

काठमाडाै । नेकपा एकीकृत समाजवादी पार्टीले २४ सदस्यीय सचिवालय गठन गरेकाे छ । यस्तै संविधान संशोधनका लागि सुझाव दिनका लागि कार्यदल समेत गठन गरेको छ।

पार्टी कार्यालय आलोकनगरमा आज सम्पन्न पार्टी स्थायी कमिटी बैठकले संविधान संशोधनबारे अध्ययन गरेर सुझाव दिनको लागि उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए। सुझाव कार्यदलमा गरिमा साह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई छन् ।

त्यस्तै बैठकले आगामी निर्वाचनमा कलम चुनाव चिन्हका साथ उम्मेदवारहरू एक्लै चुनाव लड्ने निष्कर्षसमेत निकालेको छ । यसका लागि जनतामा जाने खतिवडाले बताए । बैठकले पार्टी एकता नगर्ने र सुदृढीकरणमा ध्यान दिने निर्णय पनि गरेको उनले बताए। बैठकले पार्टीलाई जनतासँग जोड्नको लागि जनसंर्षका अभियानहरू चलाउने निर्णय पनि गरेको छ। स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको छ । सचिवालमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २४ जना रहने खतिवडाले बताए ।

बैठकले पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ भने पार्टीको आगामी कार्ययोजनालाई संशोधनसहित पारित गरेको छ । कार्यविभाजनका सन्दर्भमा आएका सुझावहरूलाई अध्ययन गरी दुई दिनपछि टुंग्याउने खतिवडाले बताए । खतिवडाले वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा ल्याउनका लागि छलफल भइरहेको र गौतम पनि सकारात्मक रहेको बताए । यसका लागि अन्य प्रक्रियाका कामहरू जारी रहेको उनको भनाइ छ ।