काठमाडाै । म्याद थपका लागि अस्पतालबाट काठमाडौं जिल्ला अदालत लगिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पुनः अस्पताल नै लगिने भएको छ ।
उनलाई आज मध्यान्हको समयमा केएमसी हस्पिटल सिनामंगलबाट बबरमहलस्थित जिल्ला अदालत पुर्याइएपछि फेरि उनलाई अस्पताल नै लगिनेछ । नागरिक बचाउ महाअभियानका केन्द्रीय संयोजक र आफूलाई व्यवस्था विरोधी अभियन्ता भन्ने गरेका प्रसाईं क्यान्सरको उपचार गराइरहेका छन् ।
गत मंसिर ४ गते पक्राउ परेका उनी यसअघि मंसिर २७ गते अदालतको आदेशपछि धरौटीमा छुटेका थिए । तर, धरौटीमा छुटे लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौँ जिल्ला अदालतको परिसरबाटै नियन्त्रणमा लिएको थियो ।
सिआइबीले प्रसाईं विरुद्ध अपराधिक विश्वास घात र धम्की तथा असुलीको कसुरमा पनि अनुसन्धान भइरहेकाले नियन्त्रणमा लिइएको जनाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै केही कागजात सार्वजनिक गरेपछि अफवाह फैलाएको आरोपमा उनी पक्राउ परेका हुन् । साइबर ब्युरोले प्रसाईंमाथि विद्युतीय कारोबार र किर्तेको कसुरमा अनुसन्धान गरेको थियो ।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाम लिँदै विभिन्न व्यवसायीहरुलाई धम्काएको आरोपमा पक्राउ परेका हरिचन्द्र फुयालले प्रहरीसँग प्रसाईको नाम लिएका थिए । यस सम्बन्धमा बयान दिइसकेका प्रसाईंले पनि फुयाललाई पाँच लाख दिएको स्वीकारेको बताइन्छ । फुयाललाई भारतमा पक्रेर काठमाडौँ ल्याएपछि धम्की र असुलीमा उनको पनि संग्लनता खुलेको छ ।
प्रतिक्रिया