काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने बताएका छन् ।
नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा १८औं केन्द्रीय परिषद् बैठकमा महासचिव पोखरेलले वर्तमान सरकार बलियो भएको र कसैले चाहेर पनि नढल्ने बताएका हुन् ।
‘अहिलेको सरकार संसदका ठूला दुई दलको बलियो सरकार हो, यो दुई दलले नचाहँदासम्म कसैले चाहेर ढल्दैन’, उनले भने, ‘यथार्थ यही हो, नडराई ढुक्कले काम गर्न गर्नुस् ।
महासचिव पोखरेलले समृद्ध नेपाल सुखी नेपाली कुनै व्यक्ति वा दल विशेषको योजना नभएर यो राष्ट्रको र वर्तमान सरकारले सोही दिशामा काम गरिरहेको स्पष्ट पारे ।
उनले अराजकतावादले मुलुकको देशभक्तिपूर्ण भावलाई नै खाइदिने खतरा भएको र देशमा सबै सकियो भन्ने खालका भाष्य निर्माण गर्ने प्रयत्न हुनु गलत भएको स्पष्ट पारे ।
पुराना दलको औचित्य सकियो भन्ने प्रकारको भ्रम फिँजाउने कामसमेत भएको उल्लेख गर्दै उनले थपे, ‘लोकप्रियताको माध्यमबाट नयाँ दल निर्माण गर्न सकिन्छ भनेर राजनीति र ठूला दलप्रति निराशा फैलाउने काम भइरहेको छ ।’
एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न नसक्नेले एमालेमाथि प्रहार गरेर राजनीतिमा निराशा जगाउने प्रयत्न गरिरहेको उनको भनाइ थियो ।
‘आफूलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन एमाले लागेको छ’, महासचिव पोखरेलले भने, ‘यसका लागि हामीले सामर्थ्य बढाउनुपर्छ ।’
लोकतन्त्रमा जनतालाई अधिकार दिने हो भने सबल राज्य हुनुपर्ने र त्यसका लागि सबैभन्दा पहिला बलिया राजनीतिक दल आवश्यक रहेको उनको भनाइ थियो ।
उनले भने, ‘जनतालाई निराशाबाट आशामा, कमजोर राज्यबाट बलियो राज्य बनाउने कुरामा, कुशासनबाट सुशासनतर्फ जाने कुरामा ध्यान जानुपर्नेछ ।’ -रासस
प्रतिक्रिया