रविमाथि कानुनबमाेजिम अनुसन्धान भैरहेकाे छ: गृहमन्त्री लेखक

चितवन ।  गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कानुनबमाेजिम अनुसन्धान भइरहेको दावी गरेका छन् ।

आज चितवनमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अनुसन्धान गर्न अदालतबाट म्याद लिइएको र अदालतले पनि कानुनबमोजिम नै म्याद दिएको बताएका हुन् ।

उनले अदालत दिएको म्यादभित्र अनुसन्धान भएको छ भने अनुसन्धान कसरी गैरकानुनी भयो भन्दै प्रश्न समेत गरेका छन् ।

‘उहाँमाथि जुन छानबिन भइरहेको छ त्यो कुनै स्वेच्छाचारी ढंगले, गैरकानुनी ढंगले भइराखेको त छैन, अनुसन्धान कानुन बमोजिम भइरहेको छ,’ उनले भने, ‘अदालतबाट लिएको म्यादभित्रै अनुसन्धान गरिएको छ भने कसरी प्रतिशोधपूर्ण र गैरकानुनी भयो ?’

सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा रहेका छन् ।