प्रासाईंविरुद्ध साढे सात वर्ष कैद माग गर्दै मुद्दा दर्ता

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीकाे विषयमा अफबाह फैलाएकाे आराेपमा पक्राउ परेका दुर्गा प्रसाईं विरुद्ध सात वर्षकाे कैद माग गर्दै मुद्दा दायर भएकाे छ ।

प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हाे। काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो । उनलाई साढे ७ वर्ष कैद गर्न माग गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले मुद्दा अभियोजन गरेका हुन् । ‘प्रसाईंविरुद्ध विद्युतीय कारोबारमा मुद्दा दर्ता भएको छ । यो भन्दा अगाडि पनि मुद्दा चलेको हुनाले कानुनी व्यवस्थाभन्दा डेढी सजाय हुने व्यवस्थाअनुसार मुद्दा दर्ता भएको छ । सो व्यवस्थाअनुसार साढे ७ वर्ष कैद माग गरिएको छ’, कटुवालले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा पैसा जम्मा गरेको भन्दै प्रसाईंले अफवाह फैलाएका थिए । प्रसाईंको थुनछेक बहस आज हुँदैछ। प्रसाईंविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान भइरहेको छ । ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने फर्जी कागज देखाउँदै उनले पत्रकार सम्मेलन गरेका थिए ।

बयानका क्रममा भने कसैले ह्वाट्एपमा पठाएको डकुमेन्ट सार्वजनिक गर्दा आफू फसेको उनले बताएका थिए ।