काठमाडाै । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई आज चितवन लगिदैछ ।
साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पुरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन लैजान लागिएको हो ।
लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा हिजो बयान सकिएको थियो । जिल्ला प्रहरी कार्यालय पोखराले पक्राउ गरेको लामिछानेलाई चितवन प्रहरीले बयानका लागि चितवन पठाउन पत्र पनि पठाइसकेको थियो । उनलाई चितवनमा बयानको लागि जिल्ला अदालतले स्वीकृति समेत दिइसकेको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले लामिछानेलाई आजै बिहानको उडानबाट चितवन ल्याउन लागिएको जानकारी दिए । यद्यपि, पहिलो वा दोस्रो कुन उडानबाट चितवन ल्याउन लागिएको हो भन्ने प्रहरी प्रशासनले खुलाएको छैन ।
यही प्रकरणमा पूर्व डिआइजी छविलाल जोशी र रामबहादुर खनाललाई दुई दिन लगाएर बयान लिइएको थियो । उनीहरुकाे हिजो बयान सकिएको थियो ।
प्रतिक्रिया