विवाह गर्न दबाब दिएपछि प्रेमिकाकाे हत्या

धनुषा । धनुषाका एक युवकले आफ्नै प्रेमिकाको हत्या गरेका छन् । विवाह गर्न दवाव दिएको भन्दै धनुषा जनकनन्दनी गाउँपालिका–३ का २२ वर्षीय रामललित मण्डल खत्वेले आफ्ना साथी ज्ञानेन्द्र दास र रमेश कुमार मण्डलसँग मिलेर सोही गाउँपालिका– ५ की प्रेमिका रेखाकुमारी मण्डलको हत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले हिजाे (शुक्रबार) पत्रकार सम्मेलन गरी घटनामा संलग्नहरुलाई सार्वजनिक गरेका हुन् ।

रामललित र रेखाबीच पछिल्लो ५-६ वर्षदेखि प्रेम सम्बन्ध रहेको अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ । तर रेखाका अभिभावकले दुवैको प्रेम सम्बन्धलाई अस्वीकार गरेको खुल्न आएको छ । 

यता  रेखाले भागेर विवाह गर्न रामललितलाई दबाब दिइरहेकी थिइन् । तर रामललितले आफूले जागिर पाएपछि मात्रै विवाह गर्न सकिने भनेपछि उनीहरुबीच विवाद बढेको पाइएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् ।

पछि रामललितले आफ्ना दुई साथीसँग मिलेर रेखाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिवारीले जानकारी दिए ।

प्रहरीले रामललितसँगै उनका साथीहरू धनुषा शहीदनगर नगरपालिका–८ नाथपट्टीका रमेशकुमार मण्डल र जनकनन्दनी गाउँपालिका–३ का ज्ञानेन्द्र दासलाई पक्राउ गरी कर्तव्य जान मुद्दामा अनुधान भइरहेको जनाएको छ ।