आज मध्यरातीबाट उपचुनावकाे माैन अवधी शुरु

काठमाडौं । स्थानीय तहको उपचुनावको मौन अवधि आज मध्यरातबाट लागू हुनेछ । मौन अवधिअघि दल र नेता अन्तिम प्रचारमा जुटिरहेका छन् । मिसन ०८४ को अभियानमा रहेका ठूलादेखि नयाँ राजनीतिक दलहरूले मंसिर १६ लाई शक्ति परीक्षणसहित रणनीतिक रणनीतिका रूपमा लिएका छन् ।

रिक्त ४४ पदमध्ये कांग्रेसबाट ओखलढुंगा जिसस प्रमुखमा टेकराज भट्टराई र कैलालीमा टीकाकुमारी चौधरी निर्विरोध भइसकेका छन् । भने पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती पनि सर्वसम्मत भइसकेका छन् ।

बाँकी ४१ मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदको निर्वाचनलाई राजनीतिक दलहरूले प्रतिष्ठाको रूपमा लिएर मैदानमा उत्रिएका छन् ।

अहिलेको निर्वाचनमा केही क्षेत्रबाहेक ठूला दलहरूले चुनावी तालमेल गरेका छैनन् । एक्लाएक्लै चुनावी मैदानमा उत्रिएकाले सबै दलहरूले आफ्नो जनमत परीक्षण गर्ने अवसर लिएका छन् । शहरी क्षेत्रको जनमत कीर्तिपुरको मेयर, वडा नम्बर १ र ४ र काठमाडौं महानगरपालिकाका १६ को परिणामले प्रतिविम्बित गर्नेछ ।

काठमाडौंबाहेक दलहरूको ध्यान जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, महाबु गाउँपालिकाको अध्यक्ष, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदमा हुन लागेको निर्वाचनमा छ ।