नेपाली महिला टाेली विश्वकपमा छनाेट

काठमाडौं । नेपाली युवा महिला क्रिकेट टोली विश्वकपमा छनोट भएका छन् । नेपाल आईसिसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको हाे ।

एसियाली छनोटको अन्तिम खेलमा आज यूएईलाई हराएर नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो ।

नेपालले यूएईलाई नेटरनरेटमा पछाडि पार्दै विश्वकपमा स्थान बनायो । पहिला ब्याटिङ गरेको यूएईलाई ८३ रनमा सीमित गर्दै नेपालले जितको आधार बलियो बनाएको थियो ।

नेपालले विश्वकपमा छनोट हुन १६.२ ओभरमा लक्ष्य पुरा गर्नुपर्ने थियाे ।

नेपालले १५ औँ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । नेपालले आगामी जनवरीमा मलेसियामा हुने आईसिसी यू-१९ महिला टी-२० विश्वकपमा खेल्ने छ । नेपालले ६ खेलबाट १० अंक जोड्यो । समान अंक भएको यूएई नेटरनरेटमा पछाडि पर्याे ।

नेपालका लागि साना प्रविनले सर्वाधिक ३५ रन बनाइन् । कप्तान पुजा महत्तोले २१ रन र सोनी पाख्रिनले १३ रनमा बनाइन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । युएईका लागि समाइरा धर्निधर्कले सर्वाधिक ३१ रन बनाएकी थिइन् बलिङमा नेपालीका कृष्मा गुरुङ ४, सीमा केसी र रिया शर्माले २–२, र रचनाकुमारी चौधरीले एक विकेट लिएका थिए ।

एसिया छनोटमा ६ खेलमा ५ जित निकाल्दै नेपाल विश्वकपमा छनोट भएको हो ।